मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छ : अर्थमन्त्री महत

वैशाख २६, २०८० |कान्तिपुर टीभी संवाददाता
मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको जनाएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो अपेक्षा राखेको जनाए । बैंकको ब्याजदर घटेसँगै व्यापारका लागि ऋण लिनेहरुको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने उनको भनाइ छ ।

‘ब्याजदर धेरै छ, ऋण लिएकाहरु आहत छन्, कसरी सम्भव छ ? भन्ने प्रश्न पनि छ । अवश्य पनि अहिले राजस्व घटेको छ । अवश्य पनि अहिले पुँजीगत खर्च कम छ, त्यसले हाम्रो लक्ष्यअनुसारको आर्थिक वृद्धि भएन, अब हाम्रो पुँजीगत खर्चको प्रभाव बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘उदासीनता छ, अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ त्यसलाई अन्त्य गर्नुपर्छ । खर्चको मनिटरिङ पहिलो दिनदेखि नै गर्नुपर्छ, महिना महिना दिनमा गर्नुपर्छ ।’

उनले सरकारका तर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको जानकारी दिए । लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको उनको धारणा छ । ‘सरकारको तर्फबाट पनि पुँजी खर्च भएको छैन, मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्ने कुरामा पनि समस्या देखिएको छ,’ उनले भने, ‘मौद्रिक नीतिमार्फत पनि एड्रेस हुनुपर्छ । सम्बोधन हुनुपर्छ । मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ ।’

अर्थमन्त्री महतले आगामी वर्षको बजेट सीमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पारे । उनले आगामी वर्षको बजेट एउटा वर्ग, समूहलाई मात्रै लक्षित गरी नल्याउने प्रतिबद्धता जनाए ।

‘फराकिलो भनेको केही सीमित वर्गलाई मात्रै हुने, आर्थिक वृद्धि होइन, त्यो भनेको हो, फराकिलो भनेको । हामीले समावेशी भनेका छौं, त्यो एउटा समूह, वर्ग, जात, क्षेत्रमा सीमित हुँदैन । जति आर्थिक वृद्धि गरौंला, त्यो आर्थिक वृद्धि, यो इन्क्लुसिभ आर्थिक वृद्धि, भनेको यो होइन कि हामीले धेरै आर्थिक वृद्धि गर्छौं, भनेर दाबी गरेको होइन, जति आर्थिक वृद्धि आउँदो वर्ष सम्भव हुन्छ, त्यो कुरा बजेटमा भनौंला ।’

उनले बजेटमा कुनै एक घरानालाई मध्यनजर राखेर फाइदा पुर्‍याउने काम गर्ने र कसैलाई मध्यनजर राखेर घाटा बनाउने काम हुँदैन, जनता र देशलाई मध्यविन्दु राखेर बजेट आउनेछ भन्दै प्रतिबद्धता पनि जनाए । ‘जुन लक्ष्य हामी राख्छौं, त्यो एउटा वर्ग समूहलाई मात्रै हुँदैन, सबैका लागि हुन्छ,’ उनले भने । मन्त्री महतले आगामी वर्षको बजेटका लागि स्रोत जुटाउने चुनौती सरकारलाई रहेको पनि जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.