साफ क्लब महिला च्याम्पियनसिपको विजेताले सवा १४ लाख रूपैयाँ पुरस्कार पाउने

मंसिर १५, २०८२ |खेल ब्युरो
साफ क्लब महिला च्याम्पियनसिपको विजेताले सवा १४ लाख रूपैयाँ पुरस्कार पाउने

काठमाडौं । यही मंसिर १९ गतेबाट दशरथ रंगशालामा आयोजना हुने साफ क्लब महिला च्याम्पियनसिपको विजेताले सवा १४ लाख रूपैयाँ पुरस्कार पाउने भएका छन् । 

एन्फाले साेमबार पत्रकार सम्मेलन गरी खेलको टिकट सामान्यतर्फ तीन सय र भीआईपीतर्फ ५ सय कायम गरिएको जानकारी दिएको हो। पहिलो पटक आयोजना हुन लागको क्लब च्याम्पियनसिपको सुरुआत नेपालबाट हुँदैछ। यो प्रतियोगितामा साफको घरेलु लिगका विजेता टोलीले प्रतिस्पर्धा गर्न पाउँछन्। 

नेपालबाट एपीएफ सहभागी बन्दा भारतबाट इस्ट बंगाल, बंग्लादेशबाट नसरिन स्पोर्ट्स, भुटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची किंग्सले सहभागिता जनाउने छ। च्याम्पियनसिप राउन्ड रोबिन शैलीमा आयोजना हुनेछ। लिग चरणमा पहिलो र दोस्रो हुने टिमबीच फाइनल खेल आयोजना हुनेछन्। 

प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले पाँच हजार र बाँकी टिमले समान २-२ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्। प्रतिायोगितामा सहभागी हुन सबै टिम मंगलबार नेपाल आउनेछन्। आर्मीको भद्रकाली मैदान र च्यासल रंगशालालाई अभ्यास मैदानको रुपमा व्यवस्था गरिएको छ। प्रतियोगिताको अनुमानित बजेट रु ३ करोड ९७ लाख रहेको छ। जसमा मुख्य प्रायोजकले ५१ लाखको प्रायोजन गरेको छ।