त्रिभुवन विश्वविद्यालयकाे नीति तथा कार्यक्रम पारित

मंसिर १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन विश्वविद्यालयकाे नीति तथा कार्यक्रम पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा-सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । 

प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा कीर्तिपुरमा बसेको बैठकले उपकुलपति दीपक अर्यालले पेस गरेको नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममा विश्वविद्यालयको जग्गा जमिन सरक्षण गर्न तारबार घेराबार गर्ने, अतिक्रमण गर्नेलाई सरकार र सरकारी निकायमार्फत कारबाही गरिने, काठमाडौंबाहिरका जग्गा खोजबिन गर्न समिति गठन गरिने उल्लेख छ । क्याम्पसहरूको समेत जग्गा जमिन खोजी गरिने त्रिविले जनाएको छ ।

यस्तै प्राध्यापक कर्मचारीलाई सेवा प्रवेश तालिम अनिवार्य गरिने, विदेशमा रहेका नेपालीलाई अनलाइन कक्षा सञ्चालन गर्ने, शैक्षिक प्रमाणपत्र प्रदेशस्थित परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गर्ने जनाइएको छ । उपकुलपति अर्यालले विश्वविद्यालय र परीक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजाने घोषणा गर्नुभएको छ । नयाँ विषय र कार्यक्रममा सम्बन्धन वितरण गर्ने र थोरै विद्यार्थी भएका क्याम्पस र कार्यक्रम समायोजन गरिने पनि उहाँले जनाउनुभएको छ ।

त्रिविसहित अनुसन्धान निर्देशनालयलाई पुनर्संरचना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । उत्कृष्ट अनुसन्धान गर्ने प्राध्यापक र अनुसन्धानकर्तालाई पुरस्कृत गरिने नीति त्रिविले लिएको छ । अनुसन्धान कोषको रकम पनि बढाइने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.