.png&w=1000&height=550)
काठमाडौं । एनपीएल-२०२५ ले टीयू मैदानलाई उत्साहको केन्द्र बनाइरहेको छ ।
१९ खेल सकिँदासम्म अपराजित सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको एकमात्र टोली बनेको छ । साथै, पहिलो क्वालिफायर्सको समेत नजिक छ । विराटनगर किङ्स तथा काठमान्डु गोर्खाज पनि प्लेअफ नजिक पुगेका छन् । तर ठूलो फ्यान बेस भएको जनकपुर वोल्ट्स अहिलेसम्म जितविहीन बन्दा समूह चरणबाटै लगभग बाहिरिइसकेको छ ।
तेस्रो साता लिग चरणका ९ खेल बाँकी रहँदा सुदूरपश्चिमबाहेक अन्य ७ टिमले प्लेअफका अन्तिम ३ स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपाल प्रिमियर लिग-एनपीएल २०२५ ले टीयू मैदानलाई उत्सवमय बनाइरहेको छ । मंसिर १ गतेबाट सुरू भएको प्रतियोगितामा १९ खेल सकिादासम्म सुदूरपश्चिम रोयल्समात्र अपराजित छ भने अहिलेसम्म प्लेअफमा पुग्ने एक्लो टोली बनेको छ ।
डिफेन्डिङ च्यामिपयन जनकपुर वोल्ट्सले भने यस सिजन खराब प्रदर्शनलाई जारी राखेको छ । सुरूवाती ४ खेलमा जितविहीन जनकपुरलाई अब चमत्कारले मात्र प्लेअफमा पुर्याउन सक्छ । तर क्रिकेटमा केही पनि असम्भव हुँदैन भन्ने मान्यता छ । व्यावहारिक रूपमा शीर्ष तीनमा रहेकामध्ये सुदूरपश्चिम अघि बढिसक्दा काठमान्डु र विराटनगरको सम्भावना बलियो छ । तेस्रो साता कुनै खराब प्रदर्शन नगरे यी तीनमध्ये दुई टोली नै पहिलो क्वालिफायर्सका दावेदार हुन् ।
अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित लिगको शीर्ष स्थानमा छ । यसअघि नै प्लेअफ पुगिसकेको साविक उपविजेताले चितवन र विराटनगसँग खेल्न बाँकी छ । दुईमध्ये एक खेल जिते ऊ पहिलो क्वालिफायर्समा पुग्ने छ । ६ खेलमा ४ जितसहित ८ अंक जोडको काठमान्डु गोर्खाजको पनि प्लेअफमा पुग्ने सम्भावना उच्च छ । उसले लिगमा पोखरासँग खेल्न बाँकी छ । यो खेल जिते उ प्लेअफमा पुग्ने छ । यस खेलमा पराजित भए पनि काठमान्डु नेट रन रेटमा अघि रहँदै अन्तिम ४ मा पुग्ने सम्भावना जिवित रहन्छ ।
५ खेलमा ४ जितसहित ८ अंक जोडेको विराटनगर किंग्स पनि प्लेअफको प्रमुख दावेदार हो । लुम्बिनी र सुदूरपश्चिमसाग प्रतिस्पर्धा गर्न बाँकी रहेको विराटनगरले दुवै खेलमा हार बेहोरे पनि ८ अंकमा प्लेअफ पुग्न सक्छ । तर दुबै खेल जिते ऊ पहिलो क्वालिफायर्समा पुग्ने छ ।
चितवन राइनोजले ४ खेलमा २ जितसहित ४ अंक जोडेको छ । जनकपुर, चितवन र पोखरासँग खेल्न बाँकी चितवनले तीन वटै खेल जिते प्लेअफमा स्थान सुरक्षित गर्ने छ । २ खेलमात्र जिते पनि ८ अंकसहित अघि बढ्न सक्ने सम्भावना रहन्छ । तर उसले नेट रन रेट र अन्य खेलको नतिजामा भर पर्नु पर्ने छ ।
विराटनगर र जनकपुरसँग खेल्न बाँकी लुम्बिनी लायन्सले दुवै खेल जिते ८ अंकसहित अघि बढ्न सक्छ । तर अन्य खेलको नतिजा पनि उसको पक्षमा आउनु पर्छ । एक जित मात्रले उ ६ अंकसम्म पुग्छ । हाललाई कुनै एक टोली ६ अंकले पनि अघि बढ्न सक्ने गणितीय सम्भावना रहे पनि त्यो निकै कठिन हुने छ ।
४ खेलमा १ जितसहित २ अंक जोडेको पोखरा एभेन्जर्स पनि अधिकतम ८ अंकसम्म पुग्न सक्छ । यस्तो अवस्थामा उसलाई अघि बढ्ने अवसर हुन सक्छ । कर्णाली, काठमान्डु र चितवनसँग खेल्न बाँकी रहँदा उसले अन्य खेलको नतिजामा समेत भर पर्नु पर्ने छ ।
कर्णाली याक्स पनि प्रतियोगिताबाट लगभग बाहिरिइसकेको छ । अधिकतम ६ अंक सम्म पुग्न सक्ने कर्णालीलाई अघि बढ्न चमत्कारको आवश्यकता छ । जितविहीन जनकपुरको पनि अवस्था उस्तै छ । ३ खेल खेल्न बाँकी साविक विजेता जनकपुर लिग चरणबाटै बाहिरिएको औपचारिक नतिजामात्र आउन बाँकी छ ।
यस साता एनपीएलबाट जिमी निसम र जेरार्ड इरास्मसले विदा लिए भने सोमबार दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डू प्लेसी विराटनगरमा सामेल भएका छन् । इंग्लिस स्टार जेसन रोय पनि पोखराबाट एनपीएल खेल्न नेपाल आइसकेका छन् । अब एक साता एनपीएलको प्लेअफ रेसका सबैभन्दा महत्वपूर्ण खेल बाँकी छन् ।
सुदूरपश्चिमले मात्र प्लेअफमा स्थान बनाउँदा बाँकी ७ टिमको कुनै न कुनै प्रकारको सम्भावना जीवित छ । यस्तो अवस्थामा बाँकी ३ स्थानमा कसले बाजी मार्ला ? पहिलो क्वालिफायर्समा कुन-कुन टिमले प्रतिस्पर्धा गर्लान् ? के प्लेअफ रेस रोमाञ्चक बन्दै जाँदा कुनै टिमलाई चमत्कारले बचाउँला ?