मौद्रिक नीति छिटै खुकुलो हुन्छ : अर्थमन्त्री महत

वैशाख २६, २०८० |कान्तिपुर टीभी संवाददाता
मौद्रिक नीति छिटै खुकुलो हुन्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीति छिटै खुकुलो हुने जनाएका छन् ।

प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले मौदिक नीति खुकुलो बनाइने र त्यसले अर्थतन्त्र चलायमान हुने उल्लेख गरे । सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा पैसा नगएको र बैंकको व्याजदर उच्च हुँदा बजार चलायमान नभएको उनको भनाइ छ ।

छलफलमा सहभागी सांसदहरुले भने निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नसकेको र तलब भत्ता खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था रहेका बेला बजेटका योजना कर्मकाण्डी भएको आरोप लगाए । उनीहरुले मजदुरलाई केन्द्रमा राखेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गर्नुपर्नेमा जोड दिए ।

सत्तापक्षीय सांसदहरुले बजेट कर्मकाण्डी भएको विपक्षीको आरोपको बचाउ गरेका थिए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले नीति फेर्नेभन्दा पनि नियत फेरेरमात्रै आर्थिक समृद्धि हासिल हुने बताए ।

कांग्रेस सांसद विनोद चौधरीले बजेटको संरचनागत परिवर्तनका लागि कठोर नबन्दासम्म आर्थिक विकासमा फड्को मार्न नसकिने धारणा राखे । सांसदहरुले देश आर्थिक संकटतर्फ धकेलिएका बेला पनि केही व्यापारीको सम्पत्ति अस्वाभाविक रुपमा बढनु नीतिगत विचलन भएको भन्दै नीतिगत सुधारको आवश्यकता औंल्याएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.