सरकारलाई अर्थशास्त्री र उद्योगीको सुझाव- लगानीकर्तालाई आश्वस्त पार्ने वातावरण बनाउँ

लगानी सम्मेलनअगावै कानुन लगानीमैत्री बनाउन माग
चैत्र १७, २०८० |सुमन पन्थ
सरकारलाई अर्थशास्त्री र उद्योगीको सुझाव- लगानीकर्तालाई आश्वस्त पार्ने वातावरण बनाउँ

काठमाडौं । तेस्रो लगानी सम्मेलन नजिकिँदै गएको छ । तर लगानी सम्मेलन पूर्वको तयारी भने सुस्त छ । अर्थशास्त्री तथा उद्यमीहरुले विदेशी लगानीकर्ताको विश्वास जित्न कानुन बनाउने र लगानीका क्षेत्र पहिचानको काम छिटो गर्न सुझाएका छन् ।

आगामी वैशाखको १६ र १७ गते काठमाडौंमा गर्ने तय भएको लगानी सम्मेलन नजिकिए पनि पूर्वतयारीका कामले गति लिएको छैन । बाहृय लगानीकर्तालाई आश्वस्त बनाउन गर्ने भनिएको देशको क्रेडिट रेटिङदेखि १० वटा कानुन संशोधनको काम भएको छैन । तीनै तहका सरकारसागको समन्वयमा बाहृय लगानी भित्र्याउने वातावरण बनाउन अर्थशास्त्री विश्व पौडेल सुझाउँछन् ।

वैदेशिक लगानीकर्ताले लगानी गर्नुअघि सम्बन्धित देशको क्रेडिट रेटिङबारे जान्न चाहन्छ । तर पछिल्लो पाँच वर्षदेखि सरकारले यो काम गर्नै सकेको छैन । क्रेडिट रेडिङले देशको लगानीमैत्री वातावरण देखाउँछ ।

यता उद्योगी व्यवसायीले पनि आन्तरिक तथा बाहृय लगानी प्रवर्द्धनका लागि भन्दै भूमिसम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐनका कतिपय दफा संशोधन गर्न माग गरेका छन् । त्यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसाय ऐनजस्ता कानुन पनि लगानी सम्मेलन अघि नै समयसापेक्ष बनाउनुपर्ने छ । तर यो काम अझै अघि बढेको छैन ।

सरकारले भने पूर्वतयारीका कामलाई तीव्रता दिएको दाबी गरेको छ । कानुनलाई लगानीमैत्री बनाउनेदेखि विदेशी नियोगका प्रतिनिधिहरुसम्मलाई लगानी सम्मेलनमा सहयोग गर्न आग्रह गरिसकेको दाबी सरकारको छ ।

यो पनि...

लगानी सम्मेलनमा पेस गरिने १२८ परियोजना छानियो

चिनियाँ व्यवसायीलाई लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको निम्तो

अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।