चितवनमा धानबालीमा रोग-किराको प्रकोप, किसान चिन्तित

आश्विन १६, २०८३ |राजु चौधरी
चितवनमा धानबालीमा रोग-किराको प्रकोप, किसान चिन्तित

चितवन । तीन बाली नै धान उत्पादन हुने जिल्ला हो चितवन । तर, धानबालीमा लाग्ने विभिन्न प्रकारका रोगले भने उत्पादनमा कमी हुने गरेको छ । 

यतिबेला वर्षे धान पसाउने बेलामा फेरि देखा परेको रोगले किसान चिन्तित बनेका छन् । तीन बाली नै धानखेती हुने चितवनमा यतिबेला धानमा देखिएको रोगले किसान समस्यामा परेका छन् । धानको जरा र पात विस्तारै मर्दै जान थालेपछि किसान चिन्तित बनेका छन् । 

बालीमा देखिएको समस्या लिएर किसानहरु प्राविधिकसँग परामर्श गर्न थालेका छन् । ढिला गरी समस्या बालासम्म पुगे नियन्त्रण गर्न कठिन हुने भएकाले पातमै रोग देखिँदा व्यवस्थापन गर्नुपर्ने अवस्था आएपछि किसानहरु प्राविधक कहाँ पुग्न थालेका छन् । 

अहिले पूर्व चितवन र पश्चिम चितवनका किसानहरुले लगाएको धानबालीमा यो समस्या देखा परेको छ । चितवनका विभिन्न क्षेत्रमा लगाइएको धानमा रोग, किरा र खाद्यतत्वको कमीका कारण किसानले समस्या भोगिरहेका छन् । प्राविधिकले खाद्यतत्वको कमी र गबारोको समस्या हुन सक्ने बताएका छन् । 

चितवनमा अहिले धानमा देखिएको समस्या एउटै प्रकारको छैन । खाद्यतत्वको कमीका साथै गबारो, पात बेरुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद डडुवा रोगजस्ता समस्या देखिएको कृषि कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनमा लगाइएका सावाँ मन्सुली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ । हर्दिनाथ–६ जातको धानमा पनि केही क्षेत्रमा समस्या देखिन थालेको छ । कृषि विकास कार्यालय चितवनले धानमा देखिएको समस्या पहिचान तथा उपचारका लागि बाली उपचार शिविर सञ्चालन गरी रहेको छ । 

चितवनमा यसवर्ष २८ हजार ३ सय बढी हेक्टरमा वर्षे धान लगाइएको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।