ब्ल्याक सिगाटोकाले सुक्दै केरा, किसानको आम्दानीमा धक्का

आश्विन १६, २०८३ |अमृता अनमोल
ब्ल्याक सिगाटोकाले सुक्दै केरा, किसानको आम्दानीमा धक्का

पश्चिम नवलपरासी । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परमपरागत अन्न खेती गर्ने पश्चिम नवलपरासीका किसानले धमाधम केरा खेती विस्तार गरे । 

व्यवसायिक केरा खेतीमा अहिले ब्ल्याक सिगाटोका रोगको प्रकोप देखिएको छ । रोगले केरा सुक्दै र मर्दै जान थालेपछि किसान अहिले चिन्तित छन् ।

पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकाका किसानले लगाएका केरामा ब्ल्याक सिगाटोका रोगको प्रकोप देखिएको छ । सिगाटोका लागेको केराको पातमा सुरुमा साना खैरा वा काला धब्बा देखिन्छन् । रोग बढ्दै गएपछि पात पहेँलिँदै सुक्न थाल्छन् । 

बोटमा हरिया पात नभएपछि केराको वृद्धि र फलको विकासमा समेत असर गर्छ । विस्तारै तलतिरसुक्दै जाँदा बोट कमजोर हुन्छ र ढल्छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुस्ता र प्रतापपुर गाउँपालिकाको ९४० हेक्टर क्षेत्रफलमा फैलिएको केरा जोनका धेरैजसो बगैँचामा अहिले ब्ल्याक सिगाटोका रोग देखिएको छ ।

ब्ल्याक सिगाटोका रोग लागेपछि नपरासएको केरा विस्तारै मर्छ । केरा पसाएको छभने समयअगावै पाक्छ । कृषि प्राविधिकहरु ब्ल्याक सिगाटोका लागेको केरा खान मिल्ने बताउछन् । तर, यस्तो केरा व्यापारीले किन्दैनन् । यसअघि घरबाटै ८० रुपैयाँ प्रतिकिलोमा बेच्ने केरा अहिले किसानले बजारमा लगेर २० रुपैयाँ प्रतिकिलोमा बेच्दासमेत बिकेको छैन । 

यसले अन्नबाली मासेर केरा खेती गरेका किसान तनावमा छन् । किसानको प्रयासले ब्ल्याक सिगाटोका नरोकिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीले पश्चिम नवलपरासीको केराजोनमा बाली उपचार शिविर सञ्चालन गरेको छ । 

किसानलाई रोग पहिचान गरी नियन्त्रण र बगैँचा व्यवस्थापनबारे सिकाएको छ । रोग नियन्त्रणका लागि भन्दै प्राविधिकको सिफारिस बिना विषादी प्रयोग नगर्न समेत सुझाएको छ । बाली रोग विशेषज्ञसहितको प्राविधिक टोलीले केराका बोट र पातको नमुना संकलन गरेको छ । 

बाली रोग विशेषज्ञका अनुसार ब्ल्याक सिगाटोका नियन्त्रणका लागि रोग लागेका पात र बोटको उचित सरसफाइ आवश्यक पर्छ । बगैँचामा हावाको आवतजावत र चिस्यान व्यवस्थापनमा ध्यान दिनुपर्छ । रोग लागेका पात हटाउँदा समेत रोग फैलाउने स्रोत कम हुन्छ ।

नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकामा आर्थिक वर्ष २०७८/७९ देखि केरा जोन कार्यक्रम सञ्चालनमा छ । जहाँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई व्यवसायिक खेती विस्तार र प्राविधिक सहयोग गर्छ । यद्यपि, ब्ल्याक सिगाटोका रोग डेढ महिनामा भुसको आगो झै फैलिएर केरा जोनको ९४० हेक्टर क्षेत्रफलमै असर गरेको छ । 

यसले रोग लागेपछि नियन्त्रण भन्दा पहिले नै केरा बगैँचाको प्रभावकारी व्यवस्थापन, नियमित अनुगमन र रोग देखिनासाथ पहिचानमा काम गर्नु पर्ने पाठ सिकाएको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।