लगानी सम्मेलनमा पेस गरिने १२८ परियोजना छानियो

४ आयोजनामा परियोजना विकास सम्झौताको तयारी
प्रतिफलबारे समेत जानकारी दिन निजी क्षेत्रको सुझाव
चैत्र १६, २०८० |सुदिल पोखरेल
लगानी सम्मेलनमा पेस गरिने १२८ परियोजना छानियो

काठमाडौं । आगामी वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सरकारले १२८ वटा परियोजना पेस गर्ने तयारी गरेको छ । लगानी सम्मेलनमा पेस गर्ने परियोजना छनोट अन्तिम चरणमा पुगेको छ । जसमा चारवटा आयोजनामा परियोजना विकास सम्झौता नै गर्ने सोच लगानी बोर्डको छ ।

लगानी बोर्डले संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रसँग आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि पेस गर्न सकिने आयोजना माग गरेको थियो । संघ, प्रदेश र स्थानीय तहबाट १ सय ९ वटा आयोजनाको प्रस्ताव पेस भएका थिए । तीमध्ये ७७ वटा छनोटमा परेका छन् ।

बोर्ड र निजी क्षेत्रले तयार पारेकासहित १२८ वटा आयोजना पेस गर्ने तयारी सरकारको छ । यसरी पेस गर्ने आयोजनामध्ये लगानी सम्मेलनकै क्रममा चार वटामा परियोजना विकास सम्झौता गर्ने तयारी छ । माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजना, चीन-नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क, कोहलपुर र बाणगंगा सोलारपावर र डाबर नेपालको क्षमता विस्तारमा परियोजना विकास सम्झौता गर्ने तयारी रहेको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जनाए ।

यसबाहेक सरकारले १४ वटा आयोजनामा आशयपत्र माग गर्नेछ । त्यसैगरी अध्ययन सकिएका २६ आयोजनामा लगानी खोजिनेछ । पहिलो चरणको मात्र अध्ययन भएका १० वटा आयोजनामा लगानीकर्ताको राय लिने तयारी गरी प्रस्ताव पेस गरिनेछ । ३९ वटा आयोजनाको भने अवधारणा मात्रै पेस गर्न लागिएको छ ।

सम्मेलनमा निजी क्षेत्रका सातवटा आयोजना पनि पेस हुनेछन् । स्वदेशी लगानीकर्ताले अध्ययन भएका र ती आयोजनाबाट प्राप्त हुने प्रतिफलको जानकारीसहित आयोजनाहरुको प्रस्ताव पेस गर्न सुझाव दिएका छन् ।

लगानी सम्मेलन सफल पार्न सरकारले यसपटक आकर्षक खालका आयोजना पेस गर्नुपर्ने हुन्छ । त्यस्ता आयोजनामा लगानीकर्ताले चासो देखाए सरकारले उनीहरुसँग नियमित सम्पर्कसमेत गर्नुपर्छ । विगतमा भएका सम्मेलनमा चासो देखाएका आयोजनामा सरकारले लगानीकर्तासाग सम्पर्क नगर्दा अघि बढ्न सकेका थिएनन् ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।