मेरो हातमा कवि बालेनको कविता सङ्ग्रह ‘अश्र’ छ । ‘अश्र’को अर्थ नेपाल प्रज्ञाप्रतिष्ठानले निकालेको वृहत् नेपाली शब्दकोशमा छैन । तर हिन्दीमा आँसुलाई अश्र भनिन्छ । अश्र संस्कृत मूलको शब्द हो ।
यो सङ्ग्रह बजारमा आएपछि निकै टिका टिप्पणी भए । विशेष गरी कविता लेखिरहेकाहरूले नै सामाजिक सञ्जालभरि यसभित्र कविता नै नभएको उल्लेख गरे । कवि भनेर चिनिएकाहरूले किन यसलाई कविता मान्न अस्वीकार गरे ? म छक्क परेको छु । कविताको शास्त्रीय परिभाषाभन्दा पर रहेर कविता लेख्नु के गलत हो ?
म आफै पनि कविता लेख्छु । मभित्र राम्रा कविता लेख्ने र पढ्ने भोक छ ।
रमाइलो त के छ भने अश्रको पानैपिच्छे छोटा छोटा कविता छन् र कवितैपिच्छे सरल रूपले कोरिएका रेखाचित्रहरू छन् । जसले कविताको भाव बुझ्न थप मद्दत पुर्याउँछ ।
र्याप लेख्ने र गाउने कलामा सिपालु बालेनले थोरै लाइनमा चमत्कारिक भाव पोखेका छन् । यसभित्रका सबै कविता उनले र्याप शैलीमा गुनगुनाएका छन् । ठाउँका ठाउँ कविता भन्ने क्षमताबिना र्याप ब्याटल सम्भव हुन्न । त्यही भएर र्यापमा हुने ‘स्टोरी टेलिङ’ बालेनका कवितामा छन् ।
‘लेख्न पाउँछु र त जीवन छ
नत्र नियमले उहिल्यै सास छोड् भन्थ्यो’
मज्जा आउँदैन पढ्दा ? यो आफैमा एउटा सिंगो कविता हो । कमसल कविता अभिधा अर्थमा मात्र हुन्छ । तर सफल कवितामा लक्षणा र व्यञ्जना तहको शब्दशक्ति हुन्छ । बालेनका कविता लाक्षणिक छन् । अश्रभित्रका एक सय ९५ मध्ये अधिकांश कविता पाँच सात लाइनमै टुङ्गिन्छन् । कतिपय चार हरफका छन् । कति त दुई हरफमै सकिएका छन् । त्यसो त कविता मापनको आधार लम्बाइ होइन, गहिराइ हो ।
‘जा तेरो भगवान्लाई भन्दे
मेरो मन कहिल्यै डरको दास हुँदैन ।’
अहिले चारैतिर बनिबनाउ भगवानहरुको बिगबिगी भइरहेको बेला यो कविताको सार र शक्ति महसुस गर्नुस् त । सिंगो समाजलाई यसले आफ्नो यथार्थ देखाएको छ । कविताको शास्त्रीय परिभाषाभन्दा फरक यी कविता चलनचल्तीको विचार, शास्त्रीयता र ढाँचा कतैबाट पनि बाँधिएका छैनन् । मनमा तत्क्षण उदाएका संवेदनालाई स्वतन्त्र रूपमा कागजमा उतारिएका छन् । कविताका शीर्षक छैनन् । कुनै लय छैन । न कुनै भूमिका न कसैको टिप्पणी । किताब पल्टाउने बित्तिकै सुरु हुन्छ कविता र किताब सकिन्छ कवितामै ।
अफ्रिकाको रंगविरोधी आन्दोलनमा जन्मिएको र्यापको गुण आफैमा उम्दा छ । र्यापर कविका यी कवितामा पनि राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक विकृति, विसंगति, असमानता आदिका बिम्बहरू आइरहन्छन् । तर र्यापमा जस्तो अनौपचारिक शब्दहरू यहाँ छैनन् ।
अश्र चार खण्डमा विभाजित छ । पहिलो खण्डमा प्रेम कविता छन् । दोस्रोमा वियोग, तेस्रोमा राजनीतिक र चौथोमा दार्शनिक कविता छन् । सङ्ख्यात्मक दृष्टिले दोस्रो र चौथो खण्ड बढी छन् । उनको काव्यिक शैली जटिल छैन । अतिरिक्त बौद्धिकता थोपर्न खोजिएको छैन । समाज, व्यवस्था र राजनीतिका विकृति, विसंगति, भेदभाव, असमानताप्रति उनका कविता तिखो सुनिएका छन् ।
किशोर कालदेखिनै गीतसंगीतमा रमाएका बालेनको व्यक्तित्वमा जुन किसिमको भिन्न आकर्षण छ । त्यो, यी कवितामा पनि प्रतिबिम्बित छन् । उनका कवितामा चलनचल्तीका कविताभन्दा फरक स्वाद छ । भाषिक लालित्यसँगै अभिव्यक्तिको तीक्ष्णता छ । बालेनको अब्बल पक्ष के भने उनले अरूका कविताको सिको गर्नुभन्दा आफ्नोपन दिने प्रयास गरेका छन् ।
अश्रका सबै कविता अब्बल छैनन् । केही कविता बन्दाबन्दै रोकिएका छन् । केही कविता गीत बन्न नसकेर अलपत्र छन् । कति भाव र शब्दबीच तारतम्य नमिलेर अलमलिएका छन् । तर अधिकांश कविताले बोकेको भाव र शक्ति गज्जबको छ ।
यति खराब लेख्न मन छ
मन्दिरमा शराब बेच्न मन छ
भक्त बनुम् यसरी कि
मूर्ति जलाएर तनाव मेट्न मन छ ।
एउटा बिर्सन नहुने कुरा के हो भने र्याप गाएर चर्चामा रहेका बालेनलाई सुरुमा कसैले पनि नेता मानेनन् । तर उनले काठमाडौं महानगरको मेयर पद जितेर देखाए । अश्रका कवितालाई धेरैले कविता मानिरहेका छैनन् तर यसले पाठकलाई बाँधिरहेको छ ।
म ढुक्कले भन्न सक्छु - बालेनका कविता अहिलेको विसंगत समाजमाथिको सरल व्यङ्ग्य हो ।
थप केही मलाई मन परेका कविताहरू :
१
सुख्खा पातहरूमा बास्ना बाँकी छ
लासबाट उब्रेको खरानीमा जस्तै
हलुका आँतहरूमा आत्मा बाँकी छ
सासबाट छुट्टिएको मलामीमा जस्तै
यसै त कहाँ बोलिरहन्छ त
बरफले पनि पोलिरहन्छ त
मुस्कानको स्पर्श नसहने मुटुले
कसरी प्रहार र गोली सहन्छ त ।
२
शून्य छ यो शून्यता पनि
शून्य अगाडि तिमीले केही थपेनौ भने
मूल्य छ केको कता छ नि
तिमीले भाउ लगाउन त्यसको सकेनौ भने ।
३
वर्षामा पानीको थोपाले तिमीलाई भिजाउँदा
हुरी चल्दा बतासले तिमीलाई छुँदा
र सूर्यको प्रकाशले तिमीलाई अंगालोमा बेर्दा
पापी बन्ने कष्ट गर्न मन लाग्छ
यो ब्रह्माण्ड नै नष्ट गर्न मन लाग्छ ।
यी सामग्रीहरू पनि पढ्नुहोस् !