प्रधानमन्त्री ओलीले सम्बोधन गरेको सिरहाको जिल्ला अधिवेशनमा सरकारी इन्धन र सवारी साधन दुरुपयोग

चैत्र २६, २०८१ |विनय आजाद
प्रधानमन्त्री ओलीले सम्बोधन गरेको सिरहाको जिल्ला अधिवेशनमा सरकारी इन्धन र सवारी साधन दुरुपयोग

सिरहा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुशासनको कुरा गरेर थाक्नु हुन्न । आजै मधेश प्रदेशसभालाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीले सुशासनको धेरै कुरा गर्नु भयो । तर, आजै सिरहा सदरमुकाममा उहाँ सहभागी एमालेको जिल्ला अधिवेशनमा विभिन्न ठाउँबाट कार्यकर्ता उतार्न एमालेले नेतृत्व गरेका जिल्लाका स्थानीय तहहरूबाट सरकारी ढुकुटी रित्याएर इन्धन वितरण गरियो ।

चोहर्वास्थित गोपाल पेट्रोल पम्पमा सवारीसाधनमा इन्धन वितरण गर्ने कामको अगुवाइ गर्दै भेटिएका एमाले कार्यकर्ता गुगलीप्रसाद यादवले भन्नुभयो, 'मोटरसाइकललाई २ लिटर, ट्याक्टरलाई १० लिटर र बसलाई १५ लिटरसम्म डिजेल र पेट्रोल वितरण गरिएको छ ।' यसरी कार्यकर्ता ओसार्न वितरण गरिएको इन्धन सरकारी स्रोतको दुरुपयोग गर्दै वितरण गरिएको पाइएको छ । जिल्लाका एमाले नेतृत्वका पालिकाहरूले आफ्नो खाता चल्दै आएको पेट्रोल पम्पहरूबाट इन्धन बाँडेका हुन् ।

सिरहामा जम्मा १७ वटा स्थानीय तह छन् । जसमध्ये गोलबजार, सिरहा, धनगढीमाई, कर्जन्हा, कल्याणपुर र सुखीपुर नगरपालिका तथा नरहा, विष्णुपुर र भगवानपुर गाउँपालिका गरी ९ वटा स्थानीय तह एमालेले जितेको छ । ती सबै स्थानीय तहहरूले आज पेट्रोल र डिजल वितरण गर्दै सरकारी स्रोतको चरम दुरुपयोग गरेको छ । 

स्थानीय जिवछ यादवले भन्नुभयो, 'एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न इन्धनको मात्र होइन सरकारी साधनहरुको पनि दुरुपयोग भइरहेको छ । अध्यक्ष, मेयर र जनप्रतिनिधिहरु सरकारी गाडीमा निर्धक्क पार्टीको झण्डा लगाएर कार्यकर्ता बोकेर आउनु भएको छ ।' उहाँले बालबालिकाहरुलाई समेत कार्यक्रममा ल्याएर गलत अभ्यासलाई निरन्तरता दिइएको बताउनु भयो ।

यतिमात्र होइन, आज एमालेको यो कार्यक्रममा सरकारी गाडीको पनि दुरुपयोग गरिएको छ । बालबालिकाको प्रयोग पनि उत्तिकै भएको पाइयो । तर, नियामक निकाय भने मौन देखिए । यो कार्यक्रमका नाममा जिल्लामा चन्दा आतंक मच्चाएको आरोप पनि एमालेमाथि लागेको छ । के यसैगरी आउने हो सुशासन ? यसैगरी बन्ने हो त देश ?


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।