झापा । युरिया मलको अभावले झापाका किसान चिन्तित बनेका छन् । हिउँदे वर्षाले चिया र मकै खेतीलाई राम्रो गरेको छ । तर, युरिया मल समयमा उपलब्ध नहुँदा चिया खेती र मकैबालीबाट भनेजस्तो आम्दानी नहुने भन्दै किसान चिन्तामा छन् । कृषि सामग्री कम्पनीले भने युरिया मल छिटोमा वैशाख दोस्रो साता मात्र नेपाल भित्रिने जनाएको छ ।
लामो समयपछि वर्षा भएको छ । खडेरीले चियाको बोट मर्न थालेको समयमा पानी परेकाले किसान जति हषिर्त छन् उता, युरिया मल नपाउँदा उति नै विष्मातमा पनि छन् । दोस्रो चरणको पत्ती टिपाई शुरु भएको छ । 'यही समयमा मल लगाउन सके उत्पादन बढ्ने र सिँचाइ खर्च घट्ने हुँदा आम्दानी लिन सकिन्छ,' पाराखोपी साना किसान चिया सहकारी संस्थाका सचिव पर्वत डाँगी भन्नुहुन्छ, 'मल आपूर्तितर्फ सरकारको ध्यानै गएन ।'
चिया खेतीका लागि कम्तीमा पनि ३ चरण मल हाल्नु पर्दछ । विर्तामोड नपा–१० का किसान कृष्ण पोखरेल भन्नुहुन्छ, 'पहिलो चरणमा नै मल नपाउँदा उत्पादन त घट्ने नै भयो, गुणस्तरमा समेत ह्रास आउने गर्दछ ।'
झापामा १० हजार ५ सय हेक्टरमा चिया खेती हुने तथ्याकं छ । १ हजार ५ सय मेट्रिक टन मल चिया क्षेत्रलाई छुट्याइएको छ । उक्त मल कृषि मन्त्रालयको मल आपूर्ति समिति बफर स्टकबाट उपलब्ध हुनेगर्दछ । नेपालमा नै युरिया मल नभित्रिएका कारण समस्या भएको कृषि सामाग्री कम्पनी लिमिटेड, विर्तामोड शाखा, झापाका प्रबन्धक दीपककुमार राजवंशीको भनाइ छ ।
चिया किसानको जस्तै समस्या छ, मकै किसानको । झापामा ४४ हजार हेक्टरमा मकै खेती हुन्छ । अझ झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत 'मकै जोन' घोषणा गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन समन्वय समिति झापाका अध्यक्ष मोहनकुमार कार्की भन्नुहुन्छ, 'मकैको धानचौरो निस्किने बेला युरिया मलको आवश्यक पर्दछ । मल हाल्न नपाए सबै मकै घाँस मात्र हुन्छ ।'
किसानलाई युरिया मलको आवश्यक हुँदा डीएपी मलको स्टक छ । तर, डीएपी मत आवश्यक हुँदा युरियाको स्टक हुने गर्दछ । सरकारी बेवास्ताकै कारण किसानले सधैँ दुःख पाउने गरेका छन् ।