लुक्ला उडानले चलायमान बनेको मन्थली बजार, होटल व्यवसायमा बढ्दो लगानी

वैशाख ३, २०८२ |नवराज श्रेष्ठ
लुक्ला उडानले चलायमान बनेको मन्थली बजार, होटल व्यवसायमा बढ्दो लगानी

काठमाडौं । आर्थिक विकासका लागि बजार महत्वपूर्ण आधार हो । उत्पादित वस्तु र सेवाको व्यवस्थित तथा दीगो बजार व्यवस्थापनले मात्र विकास र समृद्धि गतिशील बन्न सक्छ । नेपालमा पनि कोभिड-१९ पछि देखिएको व्यापार आर्थिक मन्दीको मारमा पर्‍यो । जसबाट रामेछाप सदरमुकाम मन्थली पनि अछुतो रहन सकेन । तर, अचेल सुस्ताएको मन्थलीलाई चलायमान बनाउने प्रमुख आधार विमानस्थल बनेको छ ।

अहिले सगरमाथा क्षेत्रमा वसन्त ऋतुको आरोहण चलिरहेको छ । रामेछापको मन्थली विमानस्थल आरोहण तथा ट्रेकिङमा जाने विदेशी पर्यटकले भरिभराउ छ । यो विमानस्थलबाट अचेल लुक्लाका लागि दैनिक ४० वटासम्म उडान भइरहेका छन् । वसन्त ऋतुको सिजन चैतदेखि जेठसम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मंसिरको १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला उडान हुने गरेको छ ।

यो दुई सिजनमा झन्डै ६ महिना मन्थली बजारमा विदेशी पर्यटकको ठूलो चहलपहल हुन्छ । मौसम अनुकुल नभई उडानमा अवरोध भयो भने त मन्थलीमा रहेका होटलहरुलाई पर्यटक धान्न हम्मेहम्मे पर्छ । त्यसैले सुस्ताएको मन्थली बजार चलयामन बनाउने मुख्य आधार विमानस्थलको चहलपहल बनिरहेको छ ।

मन्थली विमानस्थल २०३२ सालमा निर्माण सुरु भई ०३४ सालमा सम्पन्न भएको थियो । सरकारले यो विमानस्थलबाट २०७५ चैत १८ गतेदेखि समगरमाथा क्षेत्र घुम्न आएका पर्यटकहरुलाई लुक्ला लाने र ल्याउने व्यवस्था गरेको छ ।

यहाँबाट लुक्ला उडान हुन थालेपछि मन्थलीमा ठूला लगानीका होटेल-रिसोर्टहरु सञ्चालनमा आएका छन् । पुराना होटेलहरुले पनि आफ्ना सेवा सुविधा गुणस्तरीय बनाउादै लगेका छन् । यहाँका होटेल व्यवसायीहरुलाई समगरमाथा क्षेत्र घुम्न आउने विदेशी पर्यटकहरुलाई नै लक्षित गरी लगानी बढाउन उद्योग वाणिज्य संघ र स्थानीय सरकारले पनि प्रोत्साहन गर्दैआएको छ ।

मन्थली विमानस्थलका अनुसार सिजनमा बिहानैदेखि मौसम राम्रो भएमा एकै दिन ६० वटाभन्दा बढी उडानबाट ८ सय ५० जनासम्म पर्यटक लुक्ला पुग्छन् । मन्थली बजारसहित जिल्लाभरकै पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याइरहेको मन्थली विमानस्थलबाट अझै व्यावसायिक फाइदा लिन सम्बन्धित निकायले दीर्घकालीन योजना बनाउन अत्यावश्यक छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।