काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा गर्भनर नियुक्ति छिट्टै हुने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उहाँले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएकाले ढिलाइ भएको जिकिर गर्नुभयो ।
उहाँले सत्तारुढ दलहरूबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी समेत दिनुभयो । उहाँले सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशन अनुसार सरकारले निर्णय लिने समेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “समग्र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएको कारण गभर्नर नियुक्तिको विषय सबै दलहरूको आ–आफ्नो चासो हुनु अस्वाभाविक हैन । हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ । अब संयन्त्रको बैठक बस्दैछ । उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ । गभर्नरको समस्या चाँडै समाधान हुन्छ । अहिले पनि निमित्तको भरमा त हैन नि चलिरहेको । कार्यवाहक नै दिएर सञ्चालन भइरहेको छ ।”
सरकार शिक्षकका मागहरूप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । उहाँले शिक्षकका जायज माग पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको समेत जानकारी दिनुभयो ।