पनौतीको महोत्सव वैशाख ७ गतेसम्म चल्ने

वैशाख ३, २०८२ |पुजन धिताल
पनौतीको महोत्सव वैशाख ७ गतेसम्म चल्ने

काभ्रे । काभ्रेको पनौतीमा जारी महोत्सव आगामी वैशाख ७ गतेसम्म चल्ने भएको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक नगर पनौतीमा सञ्चालित प्रथम सांस्कृतिक तथा व्यापारिक महोत्सव गत चैत्र २१ गतेदेखि सुरु भएको हो ।

यसअघि वैशाख ३ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सवको अवधि थप गर्दै आयोजकले वैशाख ७ गतेसम्म चलाउने निर्णय गरेका छन् ।

‘नेपाली मौलिक संस्कृतिको छुट्टै पहिचान, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ महोत्सव पनौती उद्योग वाणिज्य संघको सहकार्यमा, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा, पनौती नगरपालिका–७ को संरक्षकत्वमा तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुपको व्यवस्थापनमा सञ्चालित छ ।

महोत्सवले पनौतीको गौरवमय इतिहास उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । साथै पनौतीको कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक तथा हस्तकलाको जीवन्त प्रदर्शन मार्फत स्थानीय कला, संस्कृति, घरेलु उद्योग र व्यापारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखिएको छ ।

महोत्सवमा कृषि उत्पादन, स्थानीय हस्तकला र घरेलु सामग्रीका आकर्षक व्यापारिक स्टलहरू छन् । बालबालिकाका लागि आधुनिक बालउद्यानको व्यवस्था गरिएको छ भने प्रत्येक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आएका छन् ।

आयोजकका अनुसार आगामी दिनहरूमा पनि राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने भएकाले महोत्सवको अवधि थप गरिएको हो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।