सर्वोच्चको आदेशपछि संकटमा चितवनको हात्ती सफारी, विकल्प खोज्दै पर्यटन व्यवसायी

श्रावण २३, २०८३ |राजु चौधरी
सर्वोच्चको आदेशपछि संकटमा चितवनको हात्ती सफारी, विकल्प खोज्दै पर्यटन व्यवसायी

चितवन । चितवन भ्रमणमा जाने पर्यटकको पहिलो रोजाइ वन्यजन्तुको अवलोकन हो। 

त्यसका लागि महत्वपूर्ण छ हात्ती सफारी। तर, सर्वोच्च अदालतले हात्ती सफारीको विकल्प खोज्न आदेश दिएसँगै यो बन्द हुने अवस्थामा पुगेको छ। यसले पर्यटन व्यवसायीलाई विकल्प खोज्न पनि बाध्य बनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जको आडैमा छ यो बाघमारा मध्यवर्ती सामुदायिक वन। २१५ हेक्टरमा फैलिएको यो वन हात्ती सफारीका लागि प्रख्यात छ। हात्ती सफारी नै आर्जनको मुख्य आधार भएको बाघमाराजस्ता वन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७-८ वटा छन्। 

सबैभन्दा धेरै हात्ती सफारीबाट आम्दानी गर्ने सामुदायिक वन पनि बाघमारा नै हो। बाघमाराले कुनै बेला वर्षमा ३ करोड रुपैयाँसम्म आम्दानी गर्थ्याे। जसमध्ये १ करोड रुपैयाँ त हात्ती सफारीबाट मात्रै आम्दानी हुन्थ्यो। आर्थिक वर्ष २०८२/८३ मा हात्ती सफारीबाट बाघमाराले ४५ लाख र त्यसअघिको वर्ष ५० लाख रुपैयाँ आम्दानी गरेको छ। 

युरोपेली पर्यटकले निकै कम मात्रामा हात्ती सफारी गर्दा चिनियाँ, सार्क र नेपाली पर्यटकको भरमा अहिले हात्ती सफारी चलिरहेको छ। तर, हालसालै सर्वोच्च अदालतको आदेशको पूर्णपाठले यहाँका पर्यटन व्यवसायीलाई झस्काएको छ। हात्ती कल्याणसँग जोडिएका विषयमा हात्ती सफारीको विकल्प खोज्न सर्वोच्चले निर्देशन दिएको छ । 

यसले जसोतसो चल्दै गरेको हात्ती सफारी नै बन्द गराउनुपर्ने अवस्था आएपछि व्यवसायीलाई विकल्प खोज्न बाध्य बनाएको छ । कुनै बेला बाघमारा सामुदायिक वनमा मात्रै दैनिक ९० वटा हात्ती सफारीका लागि निस्कन्थे। अहिले त्यो संख्या दैनिक ३० वटा जतिमा झरेको छ । 

झन्डै डेढ दशकयता चितवन राष्ट्रिय निकुञ्जभित्र हात्ती सफारी हुँदैन । सफारीमा सरकारी हात्ती पनि प्रयोग हुँदैनन् । चितवन निकुञ्जको आडमा रहेका बाघमारा, चित्रसेन, कुमरोजजस्ता केही मध्यवर्ती सामुदायिक वनले मात्रै हात्ती सफारी गराउँछन् । त्यहाँ पर्यटन व्यवसायीले निजीस्तरमा पालेका हात्तीबाट सफारी गराइन्छ । 

हात्ती सफारीलाई लक्षित गर्दै जनहित संरक्षण मञ्चको तर्फबाट अधिवक्ता सञ्जय अधिकारीलगायतले २०७८ भदौ २९ मा हात्ती संरक्षण गर्नुपर्ने, यातना दिन नहुने, खरिदबिक्रीलाई अभिलेख राख्न, अवैध ओसारपसार नगर्न, साङ्लोमा बाँधेर नराख्न, पर्यटन क्षेत्रमा हात्ती चढाउने कार्य रोकी अवलोकनको व्यवस्था गराउनलगायतका माग गर्दै रिट दर्ता गराएका थिए । 

त्यहीँ रिटमा सर्वोच्चले गत पुस २ गते आदेश गरेको थियो भने भर्खरै त्यसको पूर्णपाठ आएको छ । पूर्णपाठमा हात्ती सफारीमा व्यक्तिलाई हात्तीको पिठमा चढाउने अभ्यासमाथि पुनर्विचार गरी वैकल्पिक उपाय अपनाउनुपर्ने भनिएको छ । हात्ती सफारी गराउँदै आइरहेका पर्यटन व्यवसायी भने उचित विकल्प बिना सफारी बन्द गर्न नसकिने बताउँछन् ।

चितवन निकुञ्ज आएका पर्यटकको पहिलो रोजाइ नै वन्यजन्तु अवलोकन हो । यहाँ वर्षमा स्वदेशी विदेशी गरी तीन लाख हाराहारी पर्यटक आउँछन् । हात्ती सफारीसँगै जिप सफारी, डुंगा सफारी र जंगल वाक हुने गर्छ । हात्ती सफारी सौराहा क्षेत्रमा नै धेरै हुनेगरेको छ । 

सफारीमा जाने हात्ती युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध छन् । सहकारीमा अहिले ३० वटा हात्ती छन् । सहकारीबाहिर १४ हात्ती छन् । दिनहुँ करिब ३८ देखि ४० हात्ती सफारीमा प्रयोग हुने गरेको छ । तर, कोरोना माहामारीपछि हात्ती सफारीमा ह्रास आउँदै गएको छ । त्यसै कारण भारतबाट ल्याएर भाडामा राखिएका हात्तीलाई समेत व्यवसायीहरूले भारत नै फर्काएका छन्।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।