
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-३ मा रहेको चेरेचौर अहिले प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ ।
बर्खाका तीन महिना गोठालाहरू चौरमा बसेर पशुवस्तु चराउँछन् । विशाल हरियाली चौर र गोठालाको सरल जीवनशैलीले यहाँ पुग्नेहरूलाई प्रकृतिसँग नजिक बनाउँछ ।
माथि डाँफे लेक, पारिपट्टि धिमीचौर अनि तल फराकिलो फाँट । त्यही फाँटको बीचमा हरियाली ओढेर बसेको छ- चेरेचौर । लस्करै चरेका गाईभैँसी, चौरमा दौडिरहेका भेडा, गोठालाको व्यस्त दैनिकी अनि चराको चिरबिर ।
यही दृश्यले चेरेचौर पुग्नेहरूलाई आफ्नै संसार भुलाइदिन्छ ।
जुम्ला सदरमुकाम खलंगाबाट करिब ६ किलोमिटर टाढा छ चेरेचौर । पैदल हिँड्दा करिब डेढ घन्टा लाग्ने यो ठाउँ सवारीसाधनमा झन्डै आधा घन्टामै पुग्न सकिन्छ । यातायातको पहुँचसँगै पछिल्लो समय यहाँ घुम्न आउनेहरू पनि बढ्दै गएका छन् ।
यही चौरमा उत्पादन भएको दूध–दहीले धेरै परिवारको घरखर्च चलेको छ । पुस्तौंदेखि पशुपालन गर्दै आएका स्थानीयका लागि चेरेचौर जीविकासँग जोडिएको ठाउँ पनि हो ।
यहाँ छिना, महतगाउँ, भण्डारीबाडा र ढाणथपलालगायत क्षेत्रका बासिन्दाले पशुवस्तु चराउन ल्याउने गर्छन् । कसैले अस्थायी गोठ बनाएर राख्छन्, कसैले चौरमै छाडेर फर्किन्छन् । पर्यटक आउँदा स्थानीयले ताजा दूध–दही बेच्ने अवसरसमेत पाउँछन् ।
चेरेचौरमा आउनेहरू यहाँ ठूलो होटल वा महँगा मनोरञ्जन खोज्दैनन् । उनीहरूलाई चौरको खुला आकास, हरियाली, गोठको दूध-दही नै पर्याप्त हुन्छ । चेरेचौर र धिमीचौर जोड्ने पुल बनिरहेको छ । यसले आवागमन सहज भई पर्यटक आवागमन अझ बढ्ने विश्वास छ ।
यही क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शैक्षिक भवन निर्माण भइरहेको छ । यसले चेरेचौरमा विद्यार्थी, शिक्षक र बाहिरबाट आउने मानिसको चहलपहल अझै बढाउनेछ । सडक, खानेपानी, पुलजस्ता पूर्वाधारमा दिगोपन दिनसके चेरेचौरको सुन्दरता स्थानीयको आम्दानीसँग जोडिनसक्छ ।