
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका डिभर्नाको 'रक गार्डेन' पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
प्रकृतिले आफैं कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, बगैँचाजस्तै फैलिएको ढुङ्गाको भू-आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने सबैको मन लोभ्याउँछ ।
पहिलोपटक अर्घाखाँचीको डिभर्नास्थित रक गार्डेन पुग्ने आगन्तुकहरू त्यहाँका चट्टानहरूको अनौठो बनावट देखेर आश्चर्यचकित हुने गरेका छन् । मानव हातले कलात्मकरूपमा कुँदेजस्तो, कतै योजनाबद्धरूपमा सजाइएको फूलबारी झै देखिने यो प्रकृतिको अनुपम सिर्जना यहाँ पुग्नेजति सबै चर्चा गरेर थाक्दैनन् ।
झन्डै २ सय रोपनी मा फैलिएको यो क्षेत्र ढुङ्गाको जङ्गलजस्तै देखिन्छ, जसले आगन्तुकलाई एकैपटक रहस्य, सौन्दर्य र शान्तिको अनुभूति गराउँछ । सन्धिखर्कबाट झन्डै ३५ मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले विभिन्न कामअघि बढाएको छ ।
हाल पर्यटकहरूको सहजताका लागि शौचालय, विश्रामस्थल तथा मन्दिर निर्माण गरिएको छ । यी संरचनाले आगन्तुकको बसाइँलाई थप सहज र आरामदायी बनाएको छ । यस स्थानबाट सन्धिखर्क नगरपालिकासँगै भूमिकास्थान, मालारानी, पाणिनी, छत्रदेव गाउँपालिकालगायत पाल्पा र प्यूठानका केही भूभागसमेत अवलोकन गर्न सकिन्छ ।
लुम्बिनी र सुपा देउराली मन्दिर आउने पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र रक गार्डेनसम्म ल्याउन सकियो भने यो ठाउँले राम्रो प्रचारप्रसार पाउने देखिन्छ । पछिल्लो तीन वर्षदेखि अर्घाखाँचीको अलवा, गुल्मी, प्यूठान, कपिलवस्तु, रूपन्देहीलगायतका ठाउँबाट वार्षिक झन्डै २ लाख पर्यटक आउने गरेका छन् ।