बर्दियामा जल पर्यटनको चहलपहल, र्‍याफ्टिङमा रमाउँदै पर्यटक

भाद्र २, २०८३ |मनोज पौडेल
बर्दियामा जल पर्यटनको चहलपहल, र्‍याफ्टिङमा रमाउँदै पर्यटक

बर्दिया । बाघलगायतका वन्यजन्तु अवलोकन गर्ने महत्वपूर्ण गन्तव्य बर्दिया जल पर्यटनमा रमाउन चाहनेहरुका लागि पनि उत्तिकै आकर्षक छ । 

बर्दिया निकुञ्ज भएर बग्ने कर्णाली र बबई नदीको भेलले र्‍याफ्टिङलाई साहसिक र रोमाञ्चक बनाउँछ । प्राकृतिक सौन्दर्य, नदीको मनोरम दृष्य र वन्यजन्तुको चहलपहलले त्यहाँ र्‍याफ्टिङ गर्ने स्वदेशी विदेशी पर्यटक बढेका छन् ।

कर्णालीमा र्‍याफ्टिङ गर्दा नदीको तेज धारासँगै रोमाञ्चक अनुभूति हुन्छ । र्‍याफ्टिङ बोट खियाउँदै अघि बढ्दा वन्यजन्तु देखिन्छ कि भन्ने कौतुहलले यात्रालाई झन् रमाइलो बनाउँछ । र्‍याफ्टिङ गर्दैगर्दा गैँडा, हात्ती र बाघलगायतका वन्यजन्तु देख्न पाइयो भने पर्यटकले आफ्नो यात्रा सफल भएको ठान्ने गरेका छन् । यहाँ वर्षभरि नै र्‍याफ्टिङ हुने गरेको छ ।

बर्दियामा कर्णाली र बबई दुवै नदीमा छोटो–लामो र्‍याफ्टिङ चल्छ । कर्णालीमा चिसापानी पुलदेखि हात्तीसारसम्म करिब २० किमि, चिसापानी पुलदेखि कोठियाघाटसम्म करिब ३५ किमि र चिसापानी पुलदेखि सत्तीघाट टीकापुरसम्म करिब २५ किमि र्‍याफ्टिङ रुट हो । 

त्यस्तै बबईमा चेपाङदेखि परेवा ओडारसम्म करिब ४० किमि लामो रुट छ । एउटा र्‍याफ्टमा ८ देखि १० जना र्‍याफ्टिङ गर्छन् । कतिपयले एक जना बस्नेमिल्ने कायकिङ चलाउँदै र्‍याफ्टिङ गर्छन् । ५ देखि ८ हजार रुपैयाँसम्मको प्याकेज हुन्छ । जसमा पिकअप, ड्रप, खाना र खाजाको वयवस्था हुन्छ ।

र्‍याफ्टिङ गर्दा डल्फिन, ओंत, सरिसृप र चरा देख्नपाउनु झन् रोमाञ्चक हुन्छ । कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा तराई, पहाड र हिमालको गज्जबको ल्यान्डस्केप देख्न पाइने हुनाले पनि पर्यटक यहाँ जान रुचाउँछन् ।

र्‍याफ्टिङ हावा भरेर चलाउन मिल्ने डुंगा प्रयोग गरेर नदीको धारसँगै उतारचढावमा बहने साहसिक जलयात्रा हो । लाइफ ज्याकेट, आकस्मिक उद्धारलगायतका सुरक्षा मापदन्ड अपनाएर दक्ष व्यक्तिको नेतृत्वमा र्‍याफ्टिङ गरिन्छ । मनोरञ्जनात्मक साहसिक खेल र्‍याफ्टिङ गर्न रुचाउने स्वदेशी–विदेशी पर्यटकका कारण बर्दियामा यो व्यवसाय फस्टाउँदै गएको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।