जलवायु परिवर्तन र मानवीय अतिक्रमणले सङ्कटमा आप्रवासी चरा

आश्विन २४, २०८३ |मनोज पौडेल
जलवायु परिवर्तन र मानवीय अतिक्रमणले सङ्कटमा आप्रवासी चरा

कपिलवस्तु । चराहरू हजारौँ माइल लामो यात्रा गर्दै एक महादेशबाट अर्को महादेशसम्म पुग्छन् । 

तर, पछिल्लो समय चराहरूको आहारविहार, प्रजनन् र सुरक्षित बासस्थान सङ्कटमा पर्दै गएको छ । त्यसैले अक्टोबरको दोस्रो शनिबार अर्थात् असोज २३ गते अन्तर्राष्ट्रिय वर्ल्ड माइग्रेट्री बर्ड डे मनाउँदै बसाइँसराइ गरी आउने आप्रवासी चराको संरक्षण गर्न सचेतनामूलक कार्यक्रम गर्ने गरिएको छ ।

अहिले मुलुकमा सिमसार, नदी, ताल पोखरी र खेतबारीमा बस्ने हिउँदे आप्रबासी चराको आगमन सुरु भएको छ । तर, पछिलो समय नेपालमा बसाइँसराइ गरी आउने चराका बासस्थान सङ्कुचन, सिमसार क्षेत्रको अतिक्रमण, खेतबारीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले समस्या थपेको छ । 

यसले आगन्तुक चराको दैनिकी, प्रजनन् र जीवनयापनमा चुनौती थपिएको छ । जलवायु परिवर्तनले चराको बसाइँसराइ चक्रलाई प्रभावित बनाएको छ। आगन्तुक चरा रैथाने बन्न पुगेका छन् । नेपाल चरा पर्यटनका लागि विश्वमै उत्कृष्ट गन्तव्य भए पनि नदी ताल प्रदूषित हुँदै जानु, बिजुलीको नाङ्गो तार र अवैध चोरी शिकारले बसाइँसराइ गरी आउने चरा सकसमा छन् । 

निर्वाधरूपमा आवागमन गर्न पाउने वातावरण बनाउन बसाइँसराइ गर्ने चराको दिगो संरक्षण, तिनको आहारविहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि विश्वव्यापीरूपमा हातेमालो गर्दै सचेतना अभिवृद्धि गर्न चराको विश्व बसाइँसराइ दिवस मनाउने गरिन्छ । 

नेपालमा चरा संरक्षणका लागि संरक्षण संवद्ध संघ/संस्थाले अभियान चलाए पनि सरकारी प्रयास भने प्रभावकारी छैनन् । नेपालका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ७८ ठाउँमा गरिएको पछिल्लो गणनाले पनि यही सङ्केत गर्छ । सन् २०२५ मा ९६ हजार ५ सय ६५ जलपन्छी गणना गरिएकोमा २०२६ मा यो सङ्ख्या घटेर ९० हजार ६ सय ८८ मा झरेको छ । 

प्रजातिको सङ्ख्या पनि ९४ बाट ८९ मा सीमित भएको छ । नेपालमा सबैभन्दा धेरै पानी चरालाई आश्रय दिँदै आएको जगदीशपुर तालमा ८ वर्षमा ५५ प्रतिशतले चरा घटेका छन्। सन् २०१८ मा २३ हजार चरा गणना गरिएकोमा २०२६ मा घटेर १० हजार २ सय ८२ मा ओर्लिएको छ ।

नेपालमा वर्षको दुईपटक चरा बसाइँसराइ गरेर आउँछन् । हिउँदमा सिमसार क्षेत्रमा हाँसलगायतका जलपन्छी देखिन्छन् । गर्मी सुरु हुनलाग्दा यी चरा आफ्नै थातथालो फर्किन्छन् । त्यसपछि वन, बुट्यान घाँसेमैदान र कृषिभूमि मन पराउने गर्मीयामका चरा आउँछन् । 

चराले प्रजनन् क्षेत्रबाट चरन क्षेत्रसम्म हरेक वर्ष यात्रा गर्छन् । अनकुल मौसम, सुरक्षित बासस्थान, अहारविहार र प्रजनन्‌का लागि चराहरू बसाइँ सर्छन् । गत सेप्टेम्बरमा बर्ड लाइफ इन्टरनेसनलले केन्याको राजधानी नैरोबीमा सार्वजनिक 'स्टेट अफ द वर्ल्डस् बर्डस्' प्रतिवेदनअनुसार मूल्याङ्कन गरिएका एक हजार ८ सय ४३ आप्रवासी चरा प्रजातिमध्ये ४५ प्रतिशतको सङ्ख्या विश्वभर घटिरहेको छ । 

झन्डै ९ मध्ये १ अर्थात् ११ प्रतिशत आप्रवासी चरा प्रजाति लोप हुने जोखिममा छन् । त्यसैले विश्वका आप्रवासी चरा कति सङ्कटमा छन् भनेर चिन्ता गर्ने मात्र नभइ उनीहरूका लागि जोगाएर राखेका सिमसार कति सुरक्षित छन् भन्नेतर्फ बहस हुनुपर्ने संरक्षणकर्मीहरू बताउँछन् । नेपालमा अहिलेसम्म ९ सय ४ प्रजातिका चरा पाइएको अभिलेख छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।