
पाेखरा । माछापुच्छ्रे हिमालले डुबुल्की मार्ने सुन्दर फेवाताल...
जहाँ प्रत्येक छाल रोमाञ्चक छ, अनि हावाको हर झोक्काले स्वतन्त्रताको अनुभूति गराउँछ । यही नीलो जलमाथि उभिएर गरिने कायकिङ र स्ट्यान्डअप प्याडल आर्थत् सर्फिङ बोर्ड पछिल्लो समय पोखराको नयाँ पर्यटकीय आकर्षण बनिरहँदा जोखिमको कारणसमेत बनेको छ । व्यवस्थापकीय कमजोरी र सुरक्षा लापरबाहीले जलपर्यटनलाई चुनौती दिइरहेको हो ।
पोखराको फेवातालको सर्फिङ बोर्डमा उभिएर तस्बिर, भिडियो खिच्ने होडबाजी चल्छ । यसमा पर्यटकको आकर्षण बढेसँगै दुर्घटनाको जोखिम पनि बढिरहेको छ । प्रहरीको तथ्याङक अनुसार गत आर्थिक वर्षमै सर्फिङ बोर्डका २८ वटा घट्नामा ८५ जना पर्यटक तालमा डुबे, तीमध्ये आठ जनाले ज्यान गुमाए भने ७७ जनाको उद्धार गरिएको छ ।
तालिमबिनाका गाइड, लाइफज्याकेटको प्रयोगमा लापरबाही, एक जनाका लागि बनेको बोर्डमा दुई जना चढाउने, बोर्डमा बसेर वा सुतेर यात्रा गर्ने र तालमा अचानक आउने हावाहुरी र छालका कारण बोर्ड पल्टिएर दुर्घटना हुने गरेका छन । दुर्घटना बढनुमा प्राकृतिक कारण मात्र होइन, अव्यवस्थित सञ्चालन पनि हो ।
फेवाताल किनारमा बेग्रल्ती भेटिने मापदण्डविपरीतका कायकिङ र सर्फिङ बोर्डमा तालिम प्राप्त गाइड, सुरक्षाका उपकरण उपलब्ध छैनन् । कायकिङ र सर्फिङ बोर्डको लापरबाहीबारे गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गर्दा कतिपय व्यवसाय दर्ता नभइ सञ्चालन भएको, बीमा नगरेको, मूल्यसूची नराखेको र सुरक्षा मापदन्ड पालना नगरेको भेटिएको थियो ।
त्यसपछि प्रशासनले बेलुकी ६ बजेपछि फेवातालमा डुंगा, कायकिङ र सर्फिङ बोर्ड सञ्चालनमा रोक लगाएको छ । १६ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई अभिभावक बिना जलयात्रा गर्न निषेध र पर्यटकको अनिवार्य बीमा, लाइफ ज्याकेटको प्रयोग, तालिमप्राप्त गाइडको व्यवस्था, सेवाग्राहीलाई पूर्वसुरक्षा जानकारी, मौसम प्रतिकूल हुँदा सेवा बन्द गर्ने, स्वीकृत संख्याभन्दा बढी बोर्ड सञ्चालन नगर्नेलगायत १९ बुँदे निर्देशन जारी गरेको छ ।
प्रशासनको निर्देशन कार्यन्वयन भने भएको छैन । अहिले पनि मापदन्ड विपरितका कायकिङ र सर्फिङ बोर्ड सञ्चालन भइरहेका छन् । अहिले फेवाताल किनारका होटल, रेष्टुरेन्टदेखि किराना पसल सम्मले सर्फिङ बोर्ड चलाएका छन् । सुरुवती दिनमा प्रतिघण्टा पाँच सय रुपैयाँसम्म लिने गरेको उनीहरुले अहिले डेढ सय रुपैयाँ मै सेवा दिन राजी हुन्छन् ।
यस्तो अस्वस्थ प्रतिष्पर्धाले झनै जोखिम बढाएको छ । पोखरा महानगरसंग सुरुमा ६ वटा कम्पनीले चलाउने अनुमति लिए पनि अहिले ४० भन्दा धेरै कम्पनी एवम् व्यवसायीका कायकिङ र सर्फिङ बोर्ड फेवातालमा चल्छन् ।
फेवातालमा सञ्चालित व्यवसाय दर्ता, अनिवार्य बीमा, लाइफज्याकेटको प्रयोग, तालिमप्राप्त गाइड, मौसमको निगरानी र सुरक्षाका मापदन्ड पालना अनिवार्य बनाइनुपर्छ । किनभने फेवातालको सुन्दरतामा रमाउने प्रत्येक जीवन सुरक्षित रहनु आवश्यक छ ।