
चितवन । चितवनको माडी नगरपालिका प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण छ ।
त्यहाँको सम्पदाले जो कोहीलाई लोभ्याउँछ । यही नगरभित्र नयाँ पहिचान भएको ठाउँ हो धनलक्ष्मी झरना । माडीमा पदयात्री पर्यटक भित्र्याउन अहिले यही झरनाको स्थानीय सरकार प्रवर्द्धनमा लागि परेको छ ।
चितवनको दक्षिणी भेगमा पर्ने माडी नगरपालिका-८, स्थित छ वैकुण्ठ ताल । यो तालबाट करिब डेढ घन्टा हिँडेपछि पुगिन्छ सुन्दर धनलक्ष्मी झरना । करिब ६० मिटर उचाइँबाट खस्ने यो झरना अहिले पर्यटकीय गन्तव्य बन्दैछ ।
यो ठाउँलाई पैदयात्राका लागि प्रवर्द्धन गर्न माडी नगरपालिका लागि परेको छ । पदयात्रामा सहजताका लागि बाटोमा सिमेन्टको सिँढी, फलामको पर्खाल निर्माण लगायतका काम नगरपालिकाले गरेको छ ।
धनलक्ष्मी झरना निकै सुन्दर छ । तर, यहाँ रहेका प्राकृतिक सम्पदाबारे धेरै मानिसहरू अझै अनभिज्ञ छन् । घना जंगलको बीचमा रहेको यो झरनाको छुट्टै महत्व छ । पौराणिक कालमा भगवान राम र सीता वनबास रहँदा यहीँ नुहाउने गरेको रामायणमा पनि उल्लेख छ भने यस झरनामा नुहाउँदा छालासम्बन्धी रोगहरु निको हुने जनविश्वास पनि छ।
तिनै महत्व उजागर गर्न वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले यहाँको विकास तथा प्रवर्द्धनको पहल गरिरहेको छ । वैकुण्ठ तालबाट करिब एक घन्टाको पैदल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । पर्यटकको सहजताका लागि केही पूर्वाधार विकाससमेत भइसकेको छ ।
यो ठाउँसम्म पुग्दा विभिन्न प्रजातिका चराचुरुङगी देख्न सकिन्छ । पर्यटकलाई सुरक्षितरुपमा नेचरगाइडसहित पदयात्राको व्यवस्थापन गर्न सकिए यहाँ अरू थुप्रै जनावर देख्न सकिने सम्भावना छ । ‘हिँडौं प्रकृतिसँग जोडिऔं पर्यटनसँग’ नारा दिँदै माडी नगरपालिका र माडी प्रज्ञा प्रतिष्ठानले पर्यटन प्रवर्द्धनका लागि यहाँ पदयात्रासमेत गरेको छ ।
माडी उपत्यका प्राकृतिक सौन्दर्य, धार्मिक स्थल तथा सांस्कृतिक सम्पदाका दृष्टिले समृद्ध क्षेत्र हो । यहाँ समेश्वर मन्दिर, गोद्धक, वैकुण्ठ ताल र राम मन्दिरजस्ता विभिन्न धार्मिक स्थलहरू रहेका छन् । यस्तै नयाँ ठाउँको पहिचान र प्रवर्द्धन गर्न सकिए माडी क्षेत्रमा ठूलो मात्रामा पर्यटक भित्र्याउन सकिन्छ ।