नमस्ते झरना सुनसान : बाढी-पहिरोपछि संरचना मर्मत नहुँदा पर्यटक घटे

वैशाख ९, २०८३ |विनोद घिमिरे
नमस्ते झरना सुनसान : बाढी-पहिरोपछि संरचना मर्मत नहुँदा पर्यटक घटे

धनकुटा । गत वर्षको बाढी पहिरोले क्षतिग्रस्त संरचना मर्मत नहुँदा धनकुटाको सिम्सुवामा रहेको नमस्ते झरना सुनसान बनेको छ । 

तराई र पूर्वी नेपालका सीमाका भारतीय सहरबाट गर्मी छल्न पुग्ने पर्यटकको संख्या ह्वात्तै घटेको हो । बाढी पहिरोका कारण क्षतिग्रस्त पुल र पैदलमार्ग समयमै मर्मत नहुँदा पर्यटकीय गतिविधि शून्य हुनुका साथै स्थानीय तह र होटल व्यवसायीको आम्दानीसमेत घटेको छ ।

गत वर्ष आन्तरिक र अन्य मुलुकका पर्यटकले धनकुटाको साँगुरीगढी गाउँपलिकास्थित नमस्ते झरनाको अवलोकनमार्फत पालिकाले ३८ लाख रुपैयाँ राजस्व असुली गरेको थियो । तर यस वर्ष भने गत वर्ष आएको बाढी पहिरोले झरनासम्म पुग्ने सडक र पुलगायतका संरचना क्षतिग्रस्त बनाएपछि पर्यटक आवागमनमा कमी आएको छ । 

यति मात्र नभइ झरनासम्म पुग्ने पहुँचमार्ग नबन्दा पालिकाले झरनाको ठेक्का पनि लगाउन सकेको छैन । पालिकाले स्थानीय ठेकेदारलाई वार्षिक रुपमा झरना पुग्ने पर्यटकबाट राजस्व असुली गर्ने जिम्मा दिँदै आएको छ । यसले पालिकालाई ठूलो आर्थिक क्षति भइरहेको छ । 

पर्याप्त संरचना नबन्दा केही पर्यटक झरनामा पुगे पनि आधिकारिक रुपमा राजस्व संकलन गर्ने निकाय नहुँदा पालिकाको आम्दानी गुम्दै गएको छ । तत्कालीन जिल्ला विकास समितिले झरनासम्म पुग्ने पैदलमार्ग र पुल निर्माण गरेको थियो । साँगुरीगढी गाउँपालिका र कोशी प्रदेश सरकारले पनि झरनामा पूर्वाधार व्यवस्थापनका लागि लगानी गरेका छन् ।

तराइको उखरमाउलो गर्मी छल्न पुग्ने पर्यटकले नमस्ते झरना अघिल्ला वर्षका चैत, वैशाख र जेठमा भरिभराउ हुन्थे । झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरलगायत तराइका जिल्ला र पूर्वीसीमाका भारतीय सहरबाट समेत गर्मी छल्न पर्यटक नमस्ते झरना पुग्ने गर्छन् । 

झरनाको प्राकृतिक संरचना र पौडी पोखरीलगायतका पूर्वाधार भत्किएपछि नमस्ते झरना उक्लने पर्यटकको संख्या कमी भएको हो । धनकुटाको भेडेटार, नाम्जे, डाँडाँबजार, ध्वजेडाँडा र राजारानी पर्यटकीय श्रृंखलामा रम्न आउनेहरु समेत झरनासम्म पुग्ने गरेका थिए । 

आगन्तुकको संख्या घटेपछि छेउछाउमा सञ्चालित होटल व्यवसायसमेत सुस्ताएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।