पश्चिम एसियाली युद्धको असर : चितवनमा विदेशी पर्यटक घटे, होटल व्यवसायी मारमा

चैत्र ३०, २०८२ |राजु चौधरी
पश्चिम एसियाली युद्धको असर : चितवनमा विदेशी पर्यटक घटे, होटल व्यवसायी मारमा

चितवन । चितवनका पर्यटकीय क्षेत्रहरू यतिबेला विदेशी पर्यटकले भरिभराउ हुनुपर्ने हो। 

विगतको अवस्था हेर्दा अहिले साना तथा ठूला होटलहरूमा विदेशी पर्यटकहरूको आवागमन बाक्लो देखिन्थ्यो। तर, पछिल्लो दुई महिनायता चितवनमा विदेशी पर्यटक निकै कम आएका छन्। पश्चिम एसियामा बढेको युद्धको प्रभाव यहाँको पर्यटन क्षेत्रमा परेको छ। 

पर्यटकहरूले धमाधम होटेल बुकिङ रद्द गर्दा पर्यटन व्यवसायी मारमा छन् । पछिल्लो समय चितवनको उर्वर पर्यटकीय क्षेत्र हो पटिहानी। यहाँ खुलेका ठूला होटलहरूमा विदेशी पर्यटकहरू भरिभराउ हुने गरेका छन्। तर, पछिल्लो समय पश्चिम एसियामा देखिएको युद्धका कारण धमाधम बुकिङ रद्द हुन थालेपछि व्यवसायीहरू निराश छन्। 

पश्चिम एसियाली मुलुक कतार, यूएई लगायतका देशमा ट्रान्जिट भएर आउने विदेशी पर्यटकहरू नेपाल आउन सकिरहेका छैनन्। जसका कारण पछिल्लो डेढ महिनामा चितवनको पश्चिमी क्षेत्रमा आउन चाहेका २५ प्रतिशत विदेशी पर्यटकले बुकिङ रद्द गराएका छन्।

पश्चिम क्षेत्रका होटलहरूमा अहिले पश्चिम एसियाली मुलुकभन्दा बाहिरी बाटो भएर आउने केही विदेशी पर्यटकहरू मात्रै देखिन्छन्। त्यसले गर्दा पर्यटन व्यवसायीहरू सन्तुष्ट हुन सकिरहेका छैनन्। चितवनको अर्को पर्यटकीय केन्द्र सौराहाका व्यवसायीहरू पनि उतिकै चिन्तित छन्। 

चीनलगायत अन्य केही देशका पर्यटकबाहेक सौराहामा पनि विदेशी पर्यटकहरू उल्लेखीय देखिँदैन। विगतमा अन्य कारणले पर्यटक कम आउँदा यसपटक विदेशी पर्यटक बढ्नेमा व्यवसायी आशावादी र उत्साहित थिए। तर, समग्र जिल्लामै २५ प्रतिशत भन्दा बढी पर्यटकले बुकिङ रद्द गरेपछि निराश देखिएका हुन्।

यो पछिल्लो दुई महिनामा दुई वर्षअघि २३ हजार पर्यटकले चितवन भ्रमण गरेका थिए। चालु आर्थिक वर्षको फागुनसम्मको ८ महिनामा भने चितवनमा ५५ हजार मात्रै विदेशी पर्यटक आएका छन्। अपेक्षाकृत रूपमा विदेशी पर्यटक नआउँदा चितवनका सबैभन्दा धेरै ठूला होटलहरू नै मारमा पर्ने गरेका छन्। 

साना तथा मझौला होटलहरू भने आन्तरिक पर्यटकको भरमा चल्ने गरेका छन्। चितवनमा २ सयभन्दा बढी साना तथा ठूला पर्यटकीय होटलहरू सञ्चालनमा छन् ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।