तेह्रथुमको चाङलुङ गुफामा आगन्तुकको आकर्षण बढ्दै

माघ २९, २०८२ |विनोद घिमिरे
तेह्रथुमको चाङलुङ गुफामा आगन्तुकको आकर्षण बढ्दै

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकास्थित सुदापको चाङलुङ गुफामा पछिल्लो समय आगन्तुकको आकर्षण बढ्दो छ । स्थानीयको सांस्कृतिक आस्था र पहिचानसँग गाँसिएको यो गुफा अहिले भ्रमण, अध्ययन तथा मनोरञ्जनका लागि पुग्नेहरूको नयाँ रोजाइ बन्दै गएको छ ।

तेह्रथुमको छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारबाट करिब ७ किलोमिटरको दुरीमा चाङलुङ गुफा छ । जंगलको बीचमा रहेको यो गुफाको प्राकृतिक बनावट, भित्रसम्म जाने आउँने ढुंगाका सानाठूला, साँगुरा र फराकिला प्राकृतिक सुरुङले भ्रमण गर्न आउनेलाई रोमाञ्चक र रमाइलो अनुभव गराउँछ ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस स्थलमा विशेष पर्व, पूजाआजा र सामुदायिक कार्यक्रमसमेत हुने गरेका छन् । जसले गुफालाई धार्मिक तथा सामाजिक केन्द्रका रूपमा समेत चिनाएको छ । गुफाको प्रचार–प्रसार बढेसँगै विद्यालय, कलेजका विद्यार्थी, आन्तरिक पर्यटक तथा अनुसन्धानकर्ताको आगमन बढेको छ ।

छथर गाउँपालिकाले गुफाको प्रवद्र्धनका लागि संरक्षण, प्रचार–प्रसार र आधारभूत संरचना निर्माण काम सञ्चालन भइरहेको जनाएको छ । छथर गाउँपालिकाका अध्यक्ष सन्तबीर लिम्बु प्राकृतिक, ऐतिहासिक र धार्मिक महत्वलाई उजागर गर्दै पर्यटनमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ ।

चाङलुङ गुफामा पूर्वाधार ब्यबस्थापन र प्रवद्र्धनका लागि कोशी प्रदेश सरकार र छथर गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लगानी गरिसकेका छन् । गुफा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएका प्रयासले पूर्णता पाउन नसकेको छथर गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दा र पर्यटन क्षेत्रमा काम गर्नेहरूले चाङलुङ गुफाको योजनाबद्ध संरक्षण र व्यवस्थित विकास गर्न सके तेह्रथुमकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास गरेका छन् । 


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।