
रोल्पा । रोल्पाको धार्मिक तथा पर्यापर्यटकीय स्थल थामलेक पुग्ने जो-कोहीलाई पनि यसको प्राकृतिक सौन्दर्यले मोहित बनाउँछ ।
शान्त वातावरण, स्वच्छ हावा र मनोरम प्राकृतिक दृश्यले त्यहाँ पुग्ने सबैको आँखालाई लोभ्याउने गरेको छ । केही वर्ष अघिसम्म गौचरण रहेको थामलेक अहिले धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
पूर्वाधार विस्तारसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण पनि बढ्दो छ । केही समय अघिसम्म गौचरणको रुपमा रहेको रोल्पाको थामलेक अहिले धार्मिक तथा पर्यापर्यटकीय स्थलको रुपमा आकर्षणको केन्द्रविन्दु बनेको छ ।
लुंग्री गाउँपालिका–६ गुम्चालस्थित यो धार्मिक तथा पर्यटकीय स्थलमा अहिले दिनहुँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् । थामलेकबाट चातिर फैलिएका सुन्दर गाउँ र हरियाली डाडाँकाडा मात्र देखिँदैन यहाँबाट विभिन्न हिमश्रृंखलाको दृश्यावलोकन पनि गर्न सकिन्छ ।
प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित थामलेक समुद्री सतहबाट करिब २ हजार २ सय मिटरको उचाइमा छ । यहाँ घुमफिर र दृश्यावलोकनका लागि मात्रै नभइ विभिन्न संघ/सस्थाले पनि कार्यक्रमहरु गर्दै आएका छन् ।
जसले थामलेकको पर्यटकीय प्रवर्द्धनसँगै स्थानीयको आम्दानीको स्रोत पनि बनेको छ । यति मात्र नभइ थामलेकमा पर्यटकीय गतिविधि बढ्न थालेपछि स्थानीय तहलेसमेत पूर्वधार निर्माण र संरक्षणमा चासो देखाएको छ ।
रोल्पाको प्रमुख व्यापारिक केन्द्र सुलिचौर र रुइनीबाङबाट १३ किलोमिटर सडक यात्रा तथा त्यसपछि करिब आधा घण्टाको पैदल यात्रापछि धार्मिक तथा पर्यटकीय स्थल थामलेक पुग्न सकिन्छ । थामलेकमा प्रत्येक वर्ष जेठ, भदौ र माघ पूर्णिमामा शिवको पुजा गरिन्छ ।
थामलेकमा अझै आवश्यक पूर्वाधार विकासको गर्न सके बाह्रै महिना पर्यटक भित्र्याउन सहज हुन्छ ।