सत्तारूढ रास्वपाकै सांसद सरकारप्रति आक्रामक

असार ३१, २०८३ |दशरथ राई
सत्तारूढ रास्वपाकै सांसद सरकारप्रति आक्रामक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सय दिन पार गरेसँगै सत्तारुढ दलकै सांसदहरुले संसद् तथा संसदीय समितिका बैठकहरुमा सरकारको आलोचना गर्न थालेका छन् । 

सुरुमा सरकारको प्रतिरक्षामा उत्रने उनीहरु पछिल्ला दिनमा नागरिक सरोकारका मुद्दामा सरकारको कदम, प्रधानमन्त्री र मन्त्रीहरुका कार्यशैलीप्रति आलोचनात्मक बन्न थालेका हुन् । खासगरी सुकुम्वासी व्यवस्थापन, मिडियाका गेटमा गाडीको अवरोध, किसानका समस्या, नागरिकप्रति राज्यको व्यवहारलगायतका विषयप्रति रास्वपाका सांसदहरु सरकारप्रति खबरदारी गरिरहेका छन् । 

यतिमात्रै होइन केन्द्रीय नेताहरुले पनि सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्न थालेका छन् । सरकारप्रति रास्वपाकै नेता र सांसदहरु आक्रामक देखिन थालेका छन्। संसदमामात्र होइन, सामाजिक सञ्जालमा समेत सरकारको शैलीप्रति उनीहरुले आलोचना गर्न थालेका हुन्। 

रास्वपा केन्द्रीय नेता तथा सांसद मनिष झाले त सामाजिक सञ्जालमार्फत मिडियाका ढोकाढोका गाडी पार्किङ गरेर आतंकित पार्ने कामको विरोध गर्दै यसमा राज्यकै संलग्नताको संकेतसमेत गर्नुभएको छ। 

उहाँले भन्नुभएको छ- 'सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ । राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो । राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।'

वालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पार गरेसँगै सत्तारुढ रास्वपाका सांसदहरुले संसद् र संसदीय समितिमा सरकारको कार्यशैलीको आलोचनामा बोल्न थालेका हुन् । सरकारको सुरुवाती काम राम्रो भए पनि कतिपय काममा नतिजा दिन नसकेको उनीहरुको स्वीकारोक्ति छ।

सांसदहरुले भारतबाट ल्याउने सामानमा कर लगाइँदा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको, तस्करले सीमाबाट लागूऔषध ओसारपसार गर्दा पनि सरकारले मौनता साँधेको, ट्राफिक जरिवाना अत्यधिक बढेको लगायतका विषयमा विरोध जनाइरहेका छन् । 

अझ सांसद करिस्मा कठरियाले त धान रोपाइँ सुरु भइसक्दा पनि मल उपलब्ध गराउन नसकेकोमा सरकारले किसानसँग माफी माग्नुपर्ने मागसमेत गर्नुभयो। एक सय दिनमै सरकारको समीक्षा गर्न हतार हुने बताइरहेका रास्वपाका सांसदहरु दुईतिहाइ सरकारप्रति जनताको अपेक्षा ठूलो रहेकाले गति बढाउनुपर्नेमा ध्यानाकर्षण गराएको बताउँछन् ।

संसदीय समितिको बैठकमा सांसद सुलभ खरेलले जेन-जी अभियन्ता माजिद अन्सारी लगायतको पक्राउका विषयमा सरकारको आलोचना गर्नुभएको थियो। संसद्को मंगलबारकै बैठकमा पनि रास्वपा सांसदहरु मिडिया र व्यक्तिका घरअगाडि गरिएका शंकास्पद गाडी पार्किङको विरोधमा बोल्दै राज्यको संरक्षण रहेको हुन सक्ने भन्दै अनुसन्धानको माग गरे। 

स्वयं पार्टी सभापति रवि लामिछानेले मंगलबार संसद बैठकबाट बाहिरिनेक्रममा सञ्चारगृहका गेटअघि गाडी रोकेर अवरोध पुर्याइएको विषयमा छानबिन र अनुसन्धान हुनुपर्ने बताउनुभएको थियो । दिनहुँ सडकमा भइरहेका विरोध र प्रदर्शन, सुकुम्वासी भूमिहिनहरुको व्यवस्थापनमा भएका कमजोरीलगायतका विषयमा पनि सांसदहरुले आलोचना थालेका छन्। यसले सरकारमाथि आफ्नै दलका सांसदहरुको दबाब बढिरहेको अर्थमा पनि बुझिएको छ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।