हिमाल, सूर्योदय र जैविक विविधताको खानी सन्दकपुर अझै ओझेलमा

वैशाख १९, २०८३ |विप्लव भट्टराई
हिमाल, सूर्योदय र जैविक विविधताको खानी सन्दकपुर अझै ओझेलमा

इलाम । हिमशृंखला र सूर्योदयको दृष्यावलोकनसहित जैविक विविधता र धार्मिक आस्थाका कारण महत्वपूर्ण सन्दुकपुर क्षेत्रको पर्यटन प्रवर्द्धन अपेक्षित ढंगले हुनसकेको छैन। 

सडकलगायत अत्यावश्यक पूर्वाधार अभावका कारण भारततर्फबाट सन्दकपुर आउने पर्यटकको ताँती लाग्ने गरे पनि नेपाल भएर त्यहाँ पुग्ने पर्यटक अझै न्यून छन् । ३ हजार ६ सय ३६ मिटर उचाइँको डाँडोबाट वरिपरि घुम्दा देखिने नेपाल, भारत र भूटानका हिमालको दृष्यले नै सन्दकपुर पुग्ने पर्यटकलाई लठ्याउँछ । 

सीमापारि भारतले यो क्षेत्रलाई दशकौँदेखि पर्यटनमार्फत आम्दानीको स्रोत बनाइरहँदा नेपालतर्फबाट भएका प्रयास पर्याप्त छैनन् । इलाम सदरमुकामबाट ४५ किलोमिटर उत्तरमा रहेको सन्दकपुर पुग्न मावु र माईमझुवाबाट छुट्टाछुट्टै सडक बनिरहेका भए पनि अधूरै छन् । 

बर्खामा बाढी र हिउँदमा तुषारो र हिउँका कारण सन्दकपुर पुग्न कठिन हुन्छ । सन्दकपुर डाँडासम्म नै सडक पुगे पनि स्तरोन्नति हुन नसक्दा यात्रा कठिन बन्नेगरेको छ । गाउँपालिकाले आसपासका पालिका र पर्यटन विकासमा सम्बन्धित निकालाई पनि सन्दकपुरको विकासमा जोड्ने प्रयास भने गरिरहेको छ ।

लाँलीगुरास, सेतो गुराँससहित अनेकौ जंगली फूल, रेडपान्डालगायत दुर्लभ जनावारको बासस्थानसँगै पवित्र कन्काई माईको उद्गमस्थल रहेको सन्दकपुर क्षेत्र जैविक विविधता र पर्यापर्यटनका कारण महत्वपूर्ण र संवेदनशील छ । त्यसैले देशविदेशबाट यहाँ पर्यटक पुगेका हुन्छन् ।

सडक, खानेपानी, आवासगृहसहित अत्यावश्यक पूर्वाधार विकासको कामलाई वातावरणमैत्री ढंगले टुङ्गोमा पुर्याउन सके सन्दकपुरको पर्यटनले सिङ्गो इलामको आर्थिक अवस्थालाई चलायमान बनाउनेमा दुई मत छैन । सन्दकपुर गाउँपालिकाका माईपोखरी, ढापपोखरी, टोड्के झरना, छिन्टापु, मावुथामलगायतका पर्यटकीय स्थलहरूलाई समेत एउटै प्याकेजमा जोडेर प्रवर्द्धन र प्रचार गरिनुपर्ने स्थानीयको माग छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।