
बुटवल । बुटवलमा नक्कली नेपाली नोट छाप्ने र कारोबार गर्ने आरोपमा ६ जना पक्राउ परेका छन् ।
६ लाख २२ हजार रुपैयाँ बराबरका एक हजार नक्कली नोटसहित बुटवल प्रहरीले बुटवल उपमहानगरपालिका ६ नेपालगञ्जरोडको एक पसलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ की गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका १ का किरणकृष्ण तिवारी, कपिलवस्तुको बाणगंगा नगरपालिका १ का सञ्जय थारु, भक्तपुरको चाँगुनारायण नगरपालिका १ का रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका ४ का पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडी निवासी वासुमित्र आनन्द रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले विशेष सूचनाका आधारमा असार २६ गने उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो । उनीहरूमध्ये दुई जना पहिले पनि यस्तै नक्कली नोटको कारोबारमा संलग्न रहेर कारबाही भोगेका व्यक्ति हुन् ।
कारोबारको आशंकामा प्रहरीले अन्य व्यक्तिहरुमाथि पनि खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले बताउनुभयो । प्रहरीले घटनास्थलबाट फोटोकपि मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने विशेष कागज, कार्डबोर्ड, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन समेत बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि मुद्रासम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।