इलाममा सिमसार संरक्षणसँगै पर्यटकीय गतिविधि विस्तार

वैशाख ५, २०८३ |विप्लव भट्टराई
इलाममा सिमसार संरक्षणसँगै पर्यटकीय गतिविधि विस्तार

इलाम । वातावरण संरक्षण गर्दै पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पश्चिमी इलामको फाकफोकथुम गाउँपालिका-६ हाङवाचुलीका स्थानीय पोखरी विस्तारमा लागेका छन् । 

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै निःशुल्क जग्गा दिएर स्थानीय पोखरी विस्तारमा लागेका छन् । पर्याप्त पानीको स्रोत भएको र प्राकृतिक हिसाबले पनि रमणीय रहेकाले पश्चिम इलामको फाकफोकथुम गाउँपालिका-६ हाङवाचुलीका स्थानीयले धापसीम पोखरी संरक्षण अभियान चलाएका छन् । 

पोखरी विस्तार हुने क्षेत्रको २७ रोपनी जग्गा स्थानीयले निःशुल्क प्रदान गरेका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन र पर्यापर्यटनमा पनि टेवा पुग्ने उद्देश्यले पोखरी विस्तारका लागि जग्गा उपलब्ध गराएको उनीहरुको भनाइ छ । सिमसार संरक्षणमा लागेका स्थानीयलाई पालिका र प्रदेश सरकारले सहयोग गरेका छन् । 

स्थायी ड्याम निर्माण गर्ने, पोखरी वरिपरिको सडक र विश्रामस्थल निर्माण भइसकेका छन् । पोखरी अझै विस्तार गर्दै डुंगा सञ्चालन गर्ने र आन्तरिक पर्यटकलाई थप आकर्षित गर्न बगैंचा निर्माण, सुरक्षाका लागि रेलिङ निर्माणलगायतका काम गर्ने सोच रहेको स्थानीयको भनाइ छ ।

रमणीय डाँडाकाँडा, पोखरी, चियाबारीलगायतले हाङवाचुली पुग्ने जो कोहीका लागि मनमोहक लाग्न सक्छ । आजभोलि पोखरी क्षेत्रमा रमाउन पर्यटकको संख्या पनि दिनहुँ बढ्न थालेको छ । मेची राजमार्गको रााकेबाट करिब ८ किलोमिटर दूरीमा रहेको हाङवाचुली पुग्ने सडक पक्की बन्ने क्रममा छ । 

राँकेबाट ६८ किलोमिटरको मात्र यात्रा गर्दा झापाको दमक पुगिन्छ । यस खण्डको धेरै सडक कालोपत्रे भइसकेकाले पनि धापसीमसहित त्यस क्षेत्रमा पर्यटकीय, धार्मिक र सांस्कृतिक क्षेत्रको सम्भवना धेरै छ । इलाम भन्ने बित्तिकै नगदे बालीका रुपमा मात्र परिचित रहेपनि यहाँ रहेका प्राकृतिक सम्पदा, धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रको संरक्षण गर्न सके स्थानीय तहले आन्तरिक र बाह्य पर्यटक आकर्षित गरेर आम्दानी गर्न सक्ने थिए ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।