चितवन । नेपालमा यतिबेला पर्यटकीय सिजन हो । यो बेला पर्यटकीय क्षेत्रहरू पर्यटकले भरिभराउ हुनुपर्ने हो ।
चाडबाडको बेला आन्तरिक पर्यटकको पनि उत्तिकै चहलपहल हुन्थ्याे । तर चितवनमा यसपटक मुख्य चाड दशैंको बेला न विदेशी पर्यटक आए न त स्वदेशी नै । यसले निराश बनेका व्यवसायीहरू अहिले फेरि तिहारमा पर्यटक आउँछन् कि भन्ने आश छन् ।
पहिले पहिले दशैंको बेला चितवनका पर्यटकीय क्षेत्रहरू भरिभराउ हुन्थे । सौराहा, पटिहानी, मेघौलीमा आन्तरिक तथा विदेशी पर्यटकहरूको उपस्थितिले व्यवसायीहरूको मुहारमा बेग्लै चमक देखिन्थ्यो । तर यसपटक पर्यटक सिजन सुरू भइसक्दा पनि दशैंको बेलामा पर्यटक नआउँदा व्यवसायीहरू निराश बने । तर उनीहरू हरेश भने खाएका छैनन् । अर्को ठूलो चाड तिहार आइसकेकाले यो बेला पर्यटक आउने आशामा व्यवसायीहरू छन् ।
अहिले सौराहामा छिटपुट पर्यटक देखिन थालेका छन् । बाटोघाटो केही सहज बन्दा विस्तारै केही आन्तरिक र विदेशी पर्यटकहरू देखिन थालेका हुन् । त्यसैले दशैाको बेला पर्यटक नआए पनि तिहारको बेलामा पर्यटक बढ्नेमा पर्यटन व्यवसायीहरू आशावादी देखिन्छन् ।
दशैंको बेलामा सौराहामा करिब ५ प्रतिशतको हाराहारीमा मात्रै पर्यटक आए । भएका होटल बुकिङ पनि रद्द गरिए । यसले गर्दा यहाँका व्यवसायीहरूले ठूलै नोक्सानी व्यहोर्नुपर्यो । अंग्रेजी महिना सेप्टेम्बरदेखि डिसेम्बर पर्यटन आवागमनको मुख्य सिजन हो । तर पर्यटक नआउँदा व्यवसायीहरू आत्तिएका छन् ।
पछिल्लो समय सौराहा, पटिहानीमा ठूल्ठूला होटल खुल्ने क्रम जारी छ । स्तरीय होटल खुल्दै गर्दा त्यसअनुसारका पर्यटक नआउँदा व्यवसायीहरू चिन्तित हुन् । पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, सामुदायिक वनहरूमा जीप, हात्ती र डुंगा सफारीका लागि आउने गरेका छन् ।
गत आर्थिक वर्षमा असोजमा १८ हजार १७६ जना र कात्तिकमा ४८ हजार ८९५ जना स्वदेशी तथा विदेशी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । आर्थिक वर्ष २०८१/८२ मा चितवनमा ३ लाख ६ हजार ८३७ पर्यटकले भ्रमण गरेका थिए ।