मासिँदै गएका पोखरी र सीमसार जोगाउन पालिकाको पहल, बढ्दै छ पर्यटकको चहलपहल

वैशाख २७, २०८२ |विनोद घिमिरे
मासिँदै गएका पोखरी र सीमसार जोगाउन पालिकाको पहल, बढ्दै छ पर्यटकको चहलपहल

धनकुटा । चौबीसे गाउँपालिकाले पानीका मुहान संरक्षण र पर्यटन प्रवर्द्धनका लागि मासिँदै गएका प्राकृतिक पोखरी र सीमसार पुनर्भरण अभियान चलाएको छ । चौबीसेको रानी, धपड, गडरे र काँगडाका धापमा बाँध हालेर तालको रुपमा विकास गरिँदैछ । यसो गर्दा सुक्दै गएका पानीका स्रोत पुनर्भरणमा सहयोग पुग्ने तथा पर्यटनको सम्भावना पनि बढेर जाने अपेक्षा गरिएको छ ।

केही वर्ष अघिसम्म दलदल मात्रै रहेको चौबीसे गाउँपालिकाको सौसेमा रहेको धपड सीमसारलाई अहिले ठूलो तालको स्वरुपमा विकास गरिँदैछ । सीमसारको पूर्वमा बाँधहालेर ताल विस्तार गरिएको हो । चौबीसेकै गडरे र काँगडा सीमसारलाई पनि तालको रुपमा विकास गर्न पूर्वाधार व्यवस्थापनका काम भइरहेका छन् ।

गाउँपालिकाको केन्द्र रहेको राजारानीमा स्थानीयले ताल विस्तारका लागि जग्गासमेत उपलब्ध गराएका छन् । रानीतालमा अहिले सौन्दर्यीकरण र थप पूर्वाधार व्यवस्थापनका काम भइरहेका छन् । घुम्न आउनेलाई लक्षित गरी यहाँ मोटरबोटसमेत चलाइएको छ । विस्तार र व्यवस्थित हुँदै गएका ताल र पोखरीले पानीका स्रोत जोगाउने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा स्थानीयको छ ।

मुहान संरक्षण, सुकिसकेका र हराएका मुहानको पुनर्भरण प्रणालीलाई सक्रिय बनाउन मुहान क्षेत्रमा यसरी ताल र पोखरी बनाइँदै छ ।

पानी मुहान संरक्षण र पुनर्भरणका लागि चौबीसे गाउँपालिकाले संघ र प्रदेश सरकारका साथै स्थानीयसँग सहकार्य गरिरहेको छ ।

एक अध्ययनले पहाडी क्षेत्रका ७४ प्रतिशत पानीका मूल सुक्ने र ५८ प्रतिशत सर्ने समस्या रहेको देखाएको छ । धनकुटाको चौबीसे गाउँपालिकामा भइरहेको यो प्रयासले पानीका स्रोत संरक्षण, पुनर्भरण साथै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने आशा जगाएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।