काठमाडौं । आज इन्द्रजात्रा । दुई दिनदेखिको अनवरत झरीकै बीच पनि काठमाडौं बसन्तपुरको तामझाम र रौनक दिनभर बेग्लै रह्यो ।
सांस्कृतिक सहर काठमाडौंका स्थानीय मात्र होइन, जात्रा हेर्न आउने र विदेशी पर्यटक इन्द्रजात्राको रौनकमा रमाएका देखिए । वर्षा र सहकालका देवताको रुपमा मानिने देवराज इन्द्रको पुजाआजा गरी मनाइने इन्द्रजात्रा वर्षाकै बीच हर्षौउल्लासका साथ आज काठमाडौंमा मनाइएको हो ।
दिनभरि पानी परिरह्यो । तर, जात्रा हेर्न आएकाहरु झरिको परवाह नगरी रमाइरहेका भेटिए । प्रत्येक वर्ष भाद्र शुक्ल चर्तुदर्शीका दिन इन्द्रजात्रा मनाइन्छ । शुक्रबार बसन्तपुरस्थित कुमारी घरबाट जीवित देवी कुमारी, गणेश र भैरव छुट्टाछुट्टै रथमा बसेपछि रथयात्रा सुरु हुँदा सहभागी सबै उत्साहित देखिए ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेलगायत विशिष्ट व्यक्तिहरुले रथजात्राको अवलोकन गरे । रथ बसन्तपुरको गद्दी बैठक अगाडि पुग्दा हरेक वर्षझै यसपालि पनि राष्ट्र प्रमुखका हैसियतमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीसहित तीन दवीदेवताको दर्शन गरी दक्षिणा चढाए ।
इन्द्रजात्राको अर्को आकर्षण इन्द्रको वाहन ऐरावती हात्तीको पुलुकिसी नाच हो । यसका साथै लाखे नाच, शवभकु, दशअवतार, अष्टमात्रृका नाचलगायतले पनि जात्रालाई निकै आकर्षक बनायो ।
किवंदन्तीअनुसार इन्द्रले आफ्नी आमा बसुन्धरालाई व्रत बस्नका चाहिने पारिजातको फूल लिन आउँदा बगैंचामा फूल टिप्दै गर्दा चोर भनि पक्राउ गरी बाँधिएको सम्झनामा जात्रा मनाउन थालिएको कथन छ ।
दुईवटा डोरीको सहायतले रथ तान्ने गरिन्छ । रथयात्राको क्रममा बसन्तपुरबाट तल्लो टोल, मरुटोल, जैसीदेवल ज्याबहाल, लगन, ब्रम्हमटोल, चिकंमुगल हुँदै भीमसेनस्थान लगायतका ठाउँहरुमा परिक्रम गरी बसन्तपुरमै ल्याउने गरिन्छ ।
विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइने इन्द्रजात्रा शुक्रबार नै समापन भयो ।