पर्सा । ठोरी गाउँपालिका-५ सुवर्णपुर पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । निकुञ्ज अवलोकन गर्न आउने आन्तरिक तथा वाह्य पाहुनाका लागि खाना र बासको व्यवस्थापन गर्न यहाँ सुनाखरी मध्यवर्ती नाममा १५ वटा होमस्टे सञ्चालनमा छन् । जसको व्यवस्थापन सुनाखरी मध्यवर्ती होमस्टे गाउँ समितिले गर्छ ।
२०७३ सालदेखि सञ्चालनमा आएको यो होमस्टेमा शुरुका वर्षमा खासै पाहुना नआए पनि पछिल्ला वर्षमा वाषिर्क ५ देखि ६ हजार पाहुना खाना र बास बस्न आउने गरेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत स्थापना भएको यो होमस्टेमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेसँगै होमस्टे चलाउने १५ घरधुरीले प्रत्यक्ष रोजगारी पाएका छन् । यसका सञ्चालकहरु घरको कामकाज गर्दै पाहुनाको सत्कारबाट मात्रै वाषिर्क डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।
यस गाउँमा पर्यटक र वन्यजन्तु रमाउने पोखरी निर्माण गरिएको छ भने पर्यटकलाई जंगल सफारी गराउन प्रदेश सरकारले अनुदानमा एउटा गाडी उपलब्ध गराएको छ । यस क्षेत्रमा पर्यापर्यटनको राम्रो सम्भावना भएकाले पर्यटकीय गतिविधि बढाउनेबारे प्रदेश सांसदहरुले पनि चासो देखाएका छन् ।
पहिला जंगली जनावरले निकै दुःख दिने गरेको यो गाउँका स्थानीय यतिबेला जंगली जनावर गाउँतिर देखापर्दा खुसी हुन्छन् ।