जय ट्रफी : आर्मी क्लबविरूद्ध पुलिसकाे नियन्त्रण

चैत्र ४, २०८२ |खेल ब्युरो
जय ट्रफी : आर्मी क्लबविरूद्ध पुलिसकाे नियन्त्रण

काठमाडौं । जय ट्रफी एलिट कप फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरूद्ध नियन्त्रण बनाएको छ । 

मुलपानीको माथिल्लो मैदानमा जारी खेलको दोस्रो दिन सकिँदा आर्मी दोस्रो इनिङसमा १ सय ७८ रन, ९ विकेटको स्थितिमा छ । पुलिसले बिहीबार जितका लागि लक्ष्य प्राप्त गर्नेछ । पहिलो इनिङसमा दुवैले समान रन बनाएका थिए । पहिलो इनिङमा आर्मीले ५८ ओभर २ बलमा सबै विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । 

उसका लागि इमरान शेखले ५० रन बनाएका थिए । रासिद खानले ४, करण केसी र ललित राजजंशीले तीन-तीन विकेट लिएका थिए । पुलिसले पनि ६१ ओभर ४ बलमा अल आउट हुँदै २ सय २१ रननै बनायो । पुलिसले बुधबार ४१ रन तीन विकेटको अवस्थाबाट दिनको सुरुवात गरेको थियो । 

दिनेश खरेल १७ र रादिसले १५ रन जोडे । आरिफ शेख र करण केसीले इनिङस सम्हाले । अरिफले ४४ रन बनाउँदा करण ७२ रनमा अविजीत रहे । सोमपाल कामीले ५ विकेट हात पारे । दोस्रो इनिङसमा बुधबार आर्मीका कुनै पनि खेलाडीले अर्धश्तक बनाउन सकेनन् । 

इमरान शेख १६, त्रितराज दास २०, भिम सार्की ३२ र कुशल मल्ल ३६ रनमा पभेलियन फर्किए । कप्तान विनोद भन्डारी १२ रनमा मैदान बाहिरिए । बासिर अहमदले खाता खोल्न सकेनन् । साहब आलमले ३३ रन जोडे । साविक विजेताका लागि सागर ढकाल, ललित र करणले तीन-तनि विकेट लिए ।