धादिङ । संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको सुन्दर पर्यटकीय गन्तव्य हो उत्तरी धादिङको रूवी-भ्यालीमा रहेको पाङसाङपास ।
राजधानीबाट नजिकै रहेर पनि चर्चामा आउन नसकेको भन्दै दुई पाङ्ग्रे क्विन्सका राइडरहरू यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । ११ मोटर साइकलमा दुई पाङ्ग्रे क्विन्सका लेडी राइडरहरू धादिङको रूवी-भ्यालीको पाङसाङपास पुग्नुभयो । उहाँहरु त्यहाँ पर्यटन प्रवर्द्धनमा सहयोग गर्न पुग्नुभएको हो ।
सदरमुकाम धादिङवेसी हुँदै खनियाबास गाउँपालिकाको केही स्थानको अवलोकन गर्दै उहाँहरू उत्तरी धादिङको सेर्तुङ, तिप्लिङ, पाङसाङ पास गरेर रसुवा हुँदै काठमाडौं फर्किनुभयो । पर्यटन प्रवर्दन गर्ने उदेश्यले त्यसक्षेत्रमा पुग्नुभएका उहाँहरूलाई स्थानीयको गर्भिलो स्वागत थियो ।
संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकमा र छोटो समयमा आरोहण गर्न सकिने पाल्दोर पिक, गणेश हिमाललाई नजिकबाट नियाल्दै मनोरम हिमशृंखलाहरू, सुन्दर हरियाली पहाडको अवलोकन गर्दै पाङसाङपास पुग्न सकिन्छ । समुन्द्रि सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको पाङसाङपासबाट पर्यटकलाई मनै लोभ्याउने दृश्यहरू देख्न सकिन्छ ।
यो गन्तव्यमा मुस्किलले कच्ची सडक पुगेको छ । सडकका कतिपय स्थानहरूमा हिउँ जमेका कारण सडक राइडिङ गर्नेका लागि रमाउने आकर्षक गन्तव्य बनेको छ । प्राकृतिक सुन्दरताको मनोरम दृष्यहरू त छ नै यो गन्तव्यमा तामाङ तथा गुरूङ जातिका मौलिक संस्कृति बुझ्न र तिनै समुदायका जीवन्त संस्कृतिसँग रमाउन समेत सकिन्छ ।
त्यसैले सवारीसाधनको माध्यमबाट होस् यात पैदल, राजधानी नजिकको रूवी भ्यालीको पाङसाङपास पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।