
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले युद्ध प्रभावित पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले तत्काल एक करोड रूपैयाँको राहत कोष स्थापना गर्ने बताउनुभएकाे छ ।
१२औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधबाको बैठकमा संघका यस्ताे निर्णय भएकाे अध्यक्ष डा. हेमराज शर्माले बताउनुभएकाे हाे । उहाँले युद्ध प्रभावित पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले तत्काल एक करोड रूपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरून्तै रिलिज गर्ने निर्णय गरेको पनि उहाँकाे भनाइ छ।
उहाँकाअनुसार संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम एक करोड रूपैयाँ संकलन गर्ने र सो विशेष टास्क फोर्सको योजनाअनुसार र पश्चिम एसियामा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गर्ने बताउनु भयो । हाल संघमा करिब एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तिमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयाे ।
यस्तै, एनआरएनएको नयाँ कार्यसमितिका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ संगठनहरूमा आबद्ध नहुने प्रतिबद्धता जनाएका छन् । १२औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधबाको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिबद्धता जनाएको संघका अध्यक्ष शर्माले जानकारी दिनुभएको हो ।
अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलाेज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । बैठकले सचिवालय व्यवस्थापन लगायतका निर्णय पनि गरेको शर्माले बताउनु भयो । नवगठित कार्यसमितिको बैठक शुक्रबारसम्म बस्नेछ ।