
काठमाडौं । चर्च ब्वाईज युनाइटेड राष्ट्रिय लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
बुधबार भएको खेलमा चर्च ब्वाईजले संकटा क्लबलाई ५-२ गोलले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा चर्च ब्वाईजले २८औं मिनेटमा रोहण कार्कीको गोलमार्फत अग्रता लिएको थियो ।
४५औं मिनेटमा सुमित श्रेष्ठले गोल गरेपछि पहिलो हाफमा चर्च ब्वाईज २-०ले अघि रहेको थियो । ६०औं मिनेटमा मिलन राइले टिमका लागि तेस्रो गोल थपे । ६८औं मिनेटमा विवेक राइले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरे । ७३औं मिनेटमा रिचर्ड ओनेमाले गोल गरेपछि संकटाको आश जागेको थियो । तर, ७९औं मिनेटमा सुमितले गोल गरेपछि भने चर्च ब्वा@ज बलियो स्थितिमा पुग्यो ।
८०औं मिनेटमा संकटाका विवेक मगरले आफ्नै पोस्टमा गोल गर्दै चर्च ब्वाईजलाई उपहार प्रदान गरे । यो जितपछि चर्च ब्वाईजले शीर्ष स्थानको एपीएफ क्लबसँग अंक बराबरी गरेको छ । एपीएफको ११ खेलबाट २५ अंक छ भने चर्च ब्वाईज र तेस्रो स्थानमा रहेको मच्छिन्द्र फुटवल क्लबको पनि २५ अंकनै छ ।