अङ्ग्रेजी नयाँ वर्ष: भारतीय पर्यटकले जानकी मन्दिर भरिभराउ

पुस १७, २०८२ |अनिल मिश्र
अङ्ग्रेजी नयाँ वर्ष: भारतीय पर्यटकले जानकी मन्दिर भरिभराउ

धनुषा ।  अङ्ग्रेजी नयाँ वर्ष मनाउन जनकपुरधाम आएका भारतीय पर्यटकले जानकी मन्दिर भरिभराउ भएको छ । नयाँ वर्ष २०२६ को मौका छोपी आज बिहानैदेखि जानकी मन्दिर दर्शन गर्ने भारतीय पर्यटकको घुइँचो लागेको हो ।

जानकी मन्दिर, राममन्दिरलगायतका मठ मन्दिरहरूमा दर्शन र पुजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने कामनाका साथ पर्यटकहरू जनकपुरधाम आएका हुन् । महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू जनकपुरधाम आएका कारण गाडीको चाप बढनुका साथै व्यापार व्यवसायसमेत राम्रो चलेको छ । 

भारत मध्य प्रदेशस्थित टिकमगढकी महारानी वृषभानुले तात्कालीन समयमा नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको हुनाले नौलखा मन्दिरको नामले पनि प्रख्यात जानकी मन्दिर धार्मिक भारतीय पर्यटकका लागि आस्थाको केन्द्र हो। यो मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको हो। सीताको जन्मभूमि रहेको कारणले समेत नेपालसँगै भारतका लाखौँ भक्तजनहरू यहाँ पूजा र दर्शनका लागि आउने गरेका छन्।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।