
धादिङ । पछिल्लो समय धार्मिक र पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । सुचनाको पहुँच बढेसँगै सामाजिक सञ्जालमा विभिन्न धार्मिक एवं पर्यटकीय गन्तव्यको चर्चा ह्वात्तै बढेको छ । प्राकृतिक रुपमा मनोरम र आस्थाको धरोहर धादिङको सुनौला बजारमा रहेको भैरवी मन्दिर पुनर्निर्माणपछि पर्यटक र दर्शनार्थीको पर्खाइमा छ । अहिले स्थानीय तह र व्यवसायीहरुले भैरवी मन्दिरलाई धादिङको पहिचान र आर्थिक समुन्नतिको आधारका रूपमा विकास गर्ने अभियान नै थालेका छन् ।
धादिङबासीको आस्थाको केन्द्र मात्र नभई ऐतिहासिक र धार्मिक धरोहरका रूपमा परिचित भैरवी मन्दिर पर्यटक र दर्शनार्थीको पखाईमा छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ६ धादिङको पुरानो सदरमुकाम समेत हो । यहिँ डाँडाको टुप्पोमा अवस्थित प्रकृति र आस्थाको अनुपम संगम हो – भैरवी मन्दिर ।
सदरमुकाम धादिङबेंसीबाट करिब २० किलोमिटरको दूरीमा रहेको भैरवी मन्दिर पुग्नेबित्तिकै भक्तजन मात्र होइन, पर्यटक पनि मन्त्रमुग्ध हुन्छन् । मन्दिर परिसरबाट सदरमुकामसहित वरपरका बस्ती नियाल्न सकिन्छ भने सफा मौसममा नजिकै देखिने हिमशृङ्खलाले दृश्यलाई झन् मनोरम बनाइदिन्छ । डाँडाको शिखरमा उभिएर प्रकृतिसँग साक्षात्कार गर्ने अनुभव यहाँ आउने जो–कोहीका लागि अविस्मरणीय बन्ने गरेको छ ।
“मनले चिताएको पुग्छ” भन्ने जनविश्वासका कारण देशका विभिन्न जिल्लाबाट भक्तजनहरू यहाँ दर्शनका लागि आउने गरेका छन् । धार्मिक आस्थासँगै शान्त वातावरण, हरियाली र खुलेको आकाशले भैरवी मन्दिरलाई ध्यान र आत्मिक शान्तिको गन्तव्यसमेत बनाएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले मन्दिर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि स्थानीयको आस्था र सक्रियताले पुनः आकर्षक स्वरूपमा पुनर्निर्माण भएको छ । नयाँ संरचनाले मन्दिरको धार्मिक गरिमा झन् उचालिदिएको छ । यसको प्रवद्र्धनको सुन्दर सपना स्थानीय तहले बोकेको छ ।
स्थानीय तह र व्यवसायीहरूले भैरवी मन्दिरलाई धादिङको पहिचान र आर्थिक समुन्नतिको आधारका रूपमा विकास गर्ने अभियान थालेका छन् । धार्मिक पर्यटनसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गरी रोजगारी र स्थानीय अर्थतन्त्र चलायमान बनाउने उनीहरूको लक्ष्य छ ।
तर यति धेरै सम्भावना हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावले भैरवी मन्दिर अझै ओझेलमा परेको स्थानीयको गुनासो छ । पर्याप्त प्रचार, पूर्वाधार र योजनाबद्ध विकास हुन सके धादिङको यो ऐतिहासिक मन्दिर राष्ट्रिय मात्र होइन, अन्तरजिल्लास्तरीय धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने उनीहरूको विश्वास छ।