
सुर्खेत । सङ्घीय सरकारले २०७६ मा देशभरका एक सय गन्तव्य सूचीमा पारेको सुर्खेतको गिद्धेडाँडाको अपेक्षाकृत प्रचारप्रसार हुन सकेको छैन । सडक पूर्वाधार अभावले ओझेलमा परेको पर्यटकीय गन्तव्य गिद्वेडाँडामा पर्यटकहरु कष्ट झेलेरै पुग्न बाध्य छन् ।
प्रकृतिको भ्यूटावार भनेर चिनिने यस स्थानमा ९ सय ४५ वटा सिडीहरु पार गरेपछि पुग्न सकिन्छ । करिव १७ सय मिटर अग्लो पहाड । छिनमै घाम झुल्कने र छिनमै बादलले डम्म ढाक्ने गिद्वेडाँडा धार्मिक र प्रकृतिप्रेमी पर्यटकका लागि सुन्दर गन्तव्य हो । तर गिद्धेडाँडाको प्रचारप्रसार हुन सकेको छैन । बाह्रै महिना सवारी गुड्नसक्ने सडक भए आकर्षक पर्यटकीय गन्तव्य बन्ने स्थानीय बताउँछन् ।
सँधै चिसो भइरहने मौसम । एउटै स्थानबाट तराइमा सुन्दर फाँड र हिमालहरु नियाल्न सकिने भएकै कारण ७ वर्षअघि संघीय सरकारले गिद्धेडाँडालाई एक सय पर्यटकीय गन्तव्यमा सूचिकृत गरेको हो । जहाँबाट लुम्बिनी प्रदेशको बाँके, बर्दियाका सुन्दर फाँड र कर्णालीको सल्यान, रुकुममपश्चिम र जाजरकोटको केही भागहरु देखिन्छ ।
प्राकृतिक सुन्दरता मात्र होइन गिद्धेडाँडामा धार्मिक हिसावले पनि महत्वपूर्ण क्षेत्र हो । गिद्धेडाँडामै गिद्देश्वर महादेवको मन्दिर छ । जहाँ छिमेकी जिल्लाबाट मनोकाक्षा पूरा हुने आशले वर्षेनि सयौँ धार्मिक पर्यटकहरु पुग्ने गर्दछ ।
पर्यटकको राम्रो सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि गिद्धेडाँडामा पुग्नका लागि पक्की सडक छैन । गतिलो सडक नभएकै पर्यटकले सास्ती खेप्नुपर्ने अवस्था छ । पक्की सडक बनाउन आफूसँग बजेट नै नभएको बताउने स्थानीय सरकारले भने पक्की सडक पु¥याउन प्रदेश र संघीय सरकारलाई गुहार्दै आएको बताउँछन् ।
संघीय सरकारले गिद्धेडाँडाको पर्यटन विकासका लागि एक करोड रुपैयाँ खर्च गरेर ९ सय ४५ वटा सिडीहरु बनाएको छ । स्थानीय सरकारले पर्यटकको बसोबासका लागि गिद्धेडाँडामा धर्मशाला पनि छ । तर बनेको पूर्वाधारको संरक्षण हुन सकेको छैन ।
सुर्खेतबाट कमल पन्त र देव राना