भारत र चीनकासहित गरी २ सय यात्रुले पूरा गरे नेपालगन्ज-ठाकुरद्वारा साइकलयात्रा

माघ २६, २०८१ |जे पाण्डे
भारत र चीनकासहित गरी २ सय यात्रुले पूरा गरे नेपालगन्ज-ठाकुरद्वारा साइकलयात्रा

बाँके । नेपालगन्जदेखि बर्दिया राष्ट्रिय निकुन्जको ठाकुरद्वारासम्मको १ सय ५ किलोमिटर दूरी नेपाली, भारतीय र चिनियाँ साइकलयात्रीलाई एउटै मार्गमा कुदाउने मित्रमार्ग बनेको छ । प्रकृति, संस्कृति, स्वास्थ्य, खेलकुद र वातावरणसँगै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित साइकलयात्रामा ९० वर्षसम्मका यात्रीको सहभागिता निकै रोमान्चक देखियो । 

चीन र भारतबाट आएका साइकलयात्रीहरुले पश्चिम नेपालको प्रसिद्ध धार्मिक पीठ बागेश्वरी मन्दिरबाट शुक्रवार साइकलयात्रा सुरु गरे । प्राकृतिक सुन्दरतालाई नियाल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्मको यात्रामा उनीहरु सँगसँगै त थिए नै खानेबस्ने थलोसमेत एउटै थियो । 'चली ठाकुरद्वारा' यात्राका सहभागीले चलाएका साइकलका पाङ्ग्रा राजमार्ग र बस्तीको बाटो सँगै बाघ लाग्ने जंगल छिचोल्दा समेत निर्भिक रुपमा कुदे ।

विदेशी पाहुनालाई सस्तो र सहज यात्रा गराउदै नेपालका पर्यटकीयस्थलको अवलोकन गराई प्रवर्द्धन गर्नु यात्राको उद्देश्य हो । जसमा युवाहरुसँगै उमेरले ९० काटेकाहरु समेत सहभागी भए । हिंस्रक वन्यजन्तुसमेत विचरण गर्ने यो मार्ग हुँदै अघि बढेको साइकल दौड सहासिक यात्रा पनि हो ।

यात्राका क्रममा वातावरण, प्रकृति र वन्यजन्तु संरक्षण सम्बन्धी छलफल पनि भएको थियो । कतिपय यात्रुले यात्रालाई उत्सवको संज्ञा दिए । नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको 'टुर दि ठाकुरद्वारा'मा करिब दुई सयभन्दा बढी यात्री सहभागी थिए । यो सातौँ संस्करणमा चिनियाँ भन्दा भारतीय यात्रीहरु धेरै थिए । यस्तो यात्राले नेपालगन्ज क्षेत्रमा विदेशी यात्रीसहित विशेषगरी भारतीय पर्यटकको आगमन बढाउन सके संस्कृति, स्वास्थ्यसँगै आर्थिक पाटोमा पनि सघाउ पुग्ने आयोजकको भनाइ छ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement