लुक्ला जाने पर्यटकलाई मनोमानी भाडा उठाएपछि पालिकाले तोक्यो खुम्बु जाने गाडी भाडा

कार्तिक २, २०८१ |भानुभक्त निरौला
लुक्ला जाने पर्यटकलाई मनोमानी भाडा उठाएपछि पालिकाले तोक्यो खुम्बु जाने गाडी भाडा
खुम्बुपासाङल्हामुको थामडाँडा क्षेत्रमा पर्यटक लैजादै सवारी साधन । तस्बिर : भानुभक्त निरौला

सोलुखुम्बु । मौसम खराबीका कारण लुक्लामा हावाई जहाज चल्न नसके पछि वैकल्पिक स्थल मार्गको प्रयोगमार्फत विदेशी पर्यटक खुम्बु जान थालेसँगै स्थानीय तहले गाडी भाडा निर्धारण गरेको छ । 

यातायात व्यवसायीहरूले पर्यटकहरूसँग मनोमानी भाडा उठाउन थालेको गुनासो बढेसँगै खुम्बु क्षेत्र भ्रमण गर्न आउने पर्यटकको लागी खुम्बु पासाङ ल्हामु गाउँपालिकाले भाडादर कायम गरेको छ ।

गाउँपालिकाले सदरमुकाम सल्लेरीबाट टाक्सिन्दु हुँदै जुभिङ तथा जुभिङ बाट थामडाँडा सम्मका लागि भाडा दर तोकेको हो । गाउँपालिकाले पर्यटकहरूलाई सल्लेरीदेखि जुभिङ दुधकोशीसम्मको १ हजार ३ सय रुपैयाँ भाडादर कायम गरेको र जुभिङदेखि थामडाँडा सम्मका लागि १ हजार २ सय रुपैयाँ भाडादर कायम गरेको गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

यो सँगै सल्लेरीदेखि थाम डाँडासम्मको लागि प्रति यात्रु २ हजार ५ सय भाडा कायाम भएको छ । अहिले दूधकोशी नदीमा पक्कि पुल बनिनसकेकाले पल्टी गरेर गाडी सेवा संचालन भइरहेको छ । 

यात्रु ओसार्नका लागि कोशी वारी र पारी छुट्टाछुट्टै गाडी तैनाथ गरिएका छन् ।  रिजर्भका लागि भने जुभिङ देखि थामडाँडासम्म १५ हजार रुपैयाँ भाडादर कायम गरिएको प्रवक्ता शेर्पाले बताउनु भयो ।

यसअघि सल्लेरीदेखि थामडाँडासम्म व्यवसायीहरूले ४ हजारसम्म भाडा असुल्ने गरेका थिए । यस्तै गाउँपालिकाले क्यु सिस्टम तोक्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कुनै पनि बहानामा महँगो भाडादर कायम गर्ने लगायतका कार्य गर्न निषेध गरिएको छ ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।