रामेछाप । अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण गर्न अर्जेन्टिना जाने नेपाली पर्वतारोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गत शुक्रबार प्रधानमन्त्री ओलीले पाण्डेलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिनुभएको हो ।
विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण गर्ने हुनुभएको छ ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका-७ तिल्पुङ स्थायी घर भएका पाण्डे यही माघ ७ गते सोमबार अर्जेन्टिना प्रस्थान गर्नुहुनेछ । आरोहण अभियानले अर्जेन्टिनामा पनि सुन्दर पर्वतीय देश नेपालको बारेमा थप परिचय स्थापित गर्न भूमिका खेल्ने पाण्डेको विश्वास छ ।
सन् २०१६ देखि पर्वतारोहण सुरू गर्नुभएका पाण्डे सन् २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमालहरू चढ्ने अभियानमा हुनुहुन्छ ।
सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसक्नु भएका पाण्डे २०२४ मा युरोपको उच्च हिमशिखर माउन्ट एलब्रस आरोहण गर्नुभएको थियो । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गर्नुभयो । पाण्डेले आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरूका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानकृष्ट गराउँदै आउनु भएको छ ।
हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरूमा फहराएको नेपालको झन्डा नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने पाण्डेको योजना छ ।