पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता, एमालेभित्र असन्तुष्टि

माघ २३, २०८१ |महाप्रसाद खतिवडा|सुशीला पाठक
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता, एमालेभित्र असन्तुष्टि

मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो एक साता सुनसरी र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । गृहप्रदेशमा आयोजित कार्यक्रमहरूमा व्यस्त हुनुलाई भण्डारीको सक्रिय राजनीति आउने चाहनाको सङ्केतका रुपमा हेरिएको छ । तर देशको प्रथम नागरिक बनेर अभिभावकीय दायित्व पूरा गरेकी पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा सक्रिय हुन खोज्नुलाई भने स्वभाविकरूपमा हेरिएको छैन । 

पछिल्ला दिनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । माघ १४ गते विराटनगर आउनुभएकी पूर्वराष्ट्रपति भण्डारी माघ १९ गतेसम्म मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सक्रिय हुनुभयो । एक साता लामो बसाइँमा उहाँ १९ वटा कार्यक्रममा सहभागी हुनुभयो । सुनसरी र मोरङका एमाले कार्यकर्ता, पत्रकार, विद्यार्थी, विभिन्न विद्यालयको अभिभावक भेला तथा वाषिर्कोत्सव, प्राध्यापक तथा बुद्धिजीवीसँग छलफल, मनमोहन प्राविधिक विश्वविद्यालयको अनुगमन, वादविवाद प्रतियोगिता, मदन भण्डारी फाउण्डेसनका कार्यकर्ता, उर्लावारीस्थित मदन भण्डारी ट्रमा सेन्टरको अनुगमन, इन्जिनियरको कार्यक्रम, नेपाल टेलिभिजनको वाषिर्कोत्सवजस्ता कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी सहभागितालाई अर्थपूर्णरूपमा हेरिएको छ । किनभने उहाँको अभिव्यक्तिले नै त्यो संकेत गरेको छ ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको राजनीतिमा औपचारिकरूपमै सक्रिय हुँदा त्यो कुराले पनि भण्डारीलाई बल मिलेको हुनसक्छ । भण्डारीको यो सक्रियताले वर्तमान अवस्थाको मूल्याङ्कन र फेरि एमालेको राजनीतिमा फर्किएमा आउनसक्ने टिकाटिप्पणीको आाकलन गर्ने काम भएको राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेल बताउनु हुन्छ ।

एमाले मोरङले भने पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कुरा व्यक्तिगत भएको टिप्पणी गरेको छ । उहाँले राजनीतिमा आउने इच्छा देखाएमा त्यसको वातावरण पार्टीले बनाउनुपर्ने एमाले मोरङ अध्यक्ष बाबुराम कार्की बताउनुहुन्छ ।

दुई ठूला दल मिलेर सरकार चलाए पनि सेवा प्रवाह प्रभावकारी हुन नसकेर मुलुकमा निराशा बढेको, मुलुकको अवस्था स्वाभाविक नदेखिएको तरल अवस्थाको फाइदा उठाएर पूर्वराष्ट्रपमुखले फेरि राजनीतिमा आउने चाहनालाई मूर्तरुप दिन खोजेको तर त्यसले राष्ट्रपतिजस्तो पदको गरिमा र संस्थाको ओजलाई स्खलित पार्ने पूर्वाञ्जल विश्वविद्यालयका प्राध्यापक कृष्णप्रसाद पण्डेको तर्क छ ।

उसो त भण्डारीको चाहनालाई एमाले पार्टीभित्रै पनि दुई कोणबाट हेरिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीजस्ता केही सीमित नेताबाहेक धेरैले भन्न नसके पनि पूर्वराष्ट्रपति फेरि राजनीतिमा सक्रिय हुन हुँदैन भन्ने मत नै एमालेमा बलियो छ ।

नागरिक समाजका अगुवा र स्वतन्त्र विश्लेषकहरूले पनि भण्डारीको गतिविधिलाई अस्वाभाविक भनिरहँदा उहाँ फेरि पार्टी राजनीतिमा सक्रिय हुनुभयो भने त्यसले पक्कै पनि भर्खरै स्थापित नेपालको लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न मद्दत गर्नेछैन ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।

Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement