गोरखा । आज ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै हरेक वर्ष पुस २७ गते यो दिवस मनाइन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न चुनौतीका बीच तत्कालीन समयका बाइसे र चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो । आधुनिक नेपालको इतिहास थाहा पाउन गोरखा राज्य र पृथ्वीनारायण शाहबारे बुझ्न आपरिहार्य छ । अहिले गोरखामा त्यही प्रयास सुरू भएको छ ।
गोरखा सदरमुकामस्थित ठूलो आागनमा रहेको शालिकमा नेपाली सेनाको परम्परागत गुरुज्यूको पल्टनले तस्विरमा देखिएझै दैनिकरुपमा बिहान र बेलुका सलामी दिने गरेको छ ।
नेपाली सेनाले कोट, गढी र किल्ला संरक्षण अभियानअन्तर्गत पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गहरु गोरखादेखि पूर्वतर्फ काठमाडौं र पश्चिमतर्फ जितगढीसम्मको पदयात्रा पनि आयोजना गर्ने गरेको छ । त्यस्तै गोरखा आउने पर्यटकलाई इतिहासको झल्को दिन गोरखा संग्रहालय परिसरमा तत्काली राजा पृथ्वीनारायण शाहको प्रतिरुपमा एकजना व्यक्तिसमेत राखेको छ ।
पृथ्वीनारायण शाहको प्रतिरुपमा रहनुभएका राजेन्द्र बस्नेत भन्नुहुन्छ- ‘यहाँ आउने पर्यटकहरुले पृथ्वीनारायण शाहको पहिचान लिएर बस्ने भएर उहाँहरु धेरै खुसी हुनुहुन्छ । उहाँहरुलाई मैले पृथ्वीनारायण शाहको जीवनी र बिभिन्न घटनाबारे जानकारी दिने गरेको छु ।’
इतिहासको संरक्षण र प्रबर्द्धनका लागि गोरखा नगरपालिकाले पनि 'गोरखा जहाँ इतिहास जीवित छ' भन्ने नारासहित आर्थिक वर्ष २०८१/८२ लाई पर्यटन वर्ष घोषणासमेत गरेको नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
१९७९ सालमा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा वाहृय शक्तिलाई पराजित गरेर एकीकरण अभियान चलाउनुभएको थियो । उहाँले आफ्नो शासनकालमा दिएका 'घूस लिने र दिने दुवै राष्ट्रका शत्रू हुन्' भन्नेलगायतका दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा उत्तिकै सान्दर्भिक छन् ।
सम्बन्धित समाचार :
आज देशभर पृथ्वी जयन्ती मनाइँदै
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण