काठमाडौं । पोखराका पर्यटन व्यवसायी दोर्जे लामाले फरक-फरक क्षेत्रसँग सम्बन्धित युवाहरूलाई तालिम दिन सके दक्ष जनशक्ति नेपालमै खपत हुने बताउनु भएको छ ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको गन्तव्य गण्डकी कार्यक्रमको दोस्रो सत्र ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’मा बोल्दै उहाँले आफुहरूको प्रतिस्पर्धा नेपालमा नभएर नेपाल भन्दा बाहिर रहेको बताउनु भएको हो ।
उहाँले पर्यटनको क्षेत्रमा पैसा लिने भन्दा पनि सेवा दिने कुरा ठूलो रहेको बताउनु भयो । ‘हामीले के गर्ने भन्दा पनि के नगर्ने भन्ने कुरामा ख्याल गर्नु पर्छ, मैले ३४ वर्ष खाना बिक्री गरे, पैसा लिने कुरा ठूलो होइन, तर सेवा दिने कुरा ठूलो हो,’ उनले भने, ‘हामी अलि संस्थागत छैनौँ, भएका कमी कमजोरी आफूले जिम्मा लिँदैनौँ । सरकारलाई दोष दिन्छौँ, आफूबाट भएका गल्ती कमीकमजोरीको आ-आफ्नो ठाउँबाट जिम्मेवारी लिनु पर्छ ।’
कार्यक्रममा बोल्दै मुस्ताङस्थित याक डोनाल्ड्सका सञ्चालक लक्ष्मी गुरुङले सडक पूर्वाधारको पहुँचले गर्दा पर्यटनको पक्ष पनि परिवर्तन भइरहेको बताउनु भयो । ‘सडक पूर्वाधारको पहुँचले गर्दा पर्यटनको पक्ष पनि परिवर्तन भइरहेको छ, पहिला ट्रेकिङ मात्रै थियो, कम पर्यटक आउथे,’ उहाँले भन्नुभयो, ‘अहिले बस नै आउँछ, बाइक र साइकलमार्फत पनि पर्यटक आउँछन् भने ट्रेकर पनि आउँछन् ।’
पोखराका पर्यटन व्यवसायी प्रतीकराज पहारीले नेपालमा पर्यटनको ब्रान्डिङ गर्ने विषयमा स्पष्ट भए व्यवसायीले ब्रान्डिङ गर्न सक्ने सम्भावना रहेको बताउनु भयो । ‘स्विट्जरल्यान्डलाई चर्चित बनाउन भारतीय अभिनेता र निर्माताको हात छ । हामीले पनि त्यसरी ब्रान्डिङ गर्न सकिन्छ । यदि हामीले भारतीय पर्यटक चाहिएको हो भने भारतीय इन्फ्लुएन्सर ल्याउनु पर्यो । त्यसै गरी चिनियाँ पर्यटक ल्याउनु पर्यो भने चिनियाँ इन्फ्लुएन्सर ल्याउनुपर्यो ।’
द क्लिफका अध्यक्ष राजु कार्कीले पर्यटक आकर्षित गर्न सेवामा विविधता आवश्यक रहेको औंल्याउनु भयो । ‘हामीले दिने सेवा हरेक किसिमको हुनुपर्छ । धेरै पैसा एकै पटक लिनुपर्छ भन्ने होइन, राम्रो सेवा दिन सक्नु पर्छ । सेवामा विविधता भए पर्यटकलाई आकर्षित गर्न सक्छौ,’ उहाँले भन्नुभयो, ‘पैसा खर्च गर्ने पर्यटकलाई दिनुपर्ने सेवा सुविधा नै हो । गुणस्तरीय सेवा सुविधा दिन सके राम्रै हुन्छ ।’