ट्रम्पको कठोर आप्रवासन र आर्थिक नीति : नेपाललाई कस्तो प्रभाव ?

माघ २३, २०८१ |विकास थपलिया
ट्रम्पको कठोर आप्रवासन र आर्थिक नीति : नेपाललाई कस्तो प्रभाव ?

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चुनावी सभाहरूमा जे भनेका थिए, सपथलगत्तै त्यही गरिरहेका छन् । ट्रम्प २.० मा उनले एक पटक फेरि ‘अमेरिका फर्स्ट’ नीतिमा जोड दिएका छन् जसले नेपालमा ट्रिकल डाउन देखिएको छ । 

ट्रम्प ह्वाइट हाउस प्रवेश गरेसँगै जारी गरिएका आदेशले विश्वव्यापी तरंग सिर्जना गरेको छ जसको प्रत्यक्ष असर नेपालसम्मै परेको छ । विशेषगरी गैरकानुनी र आपराधिक कार्यमा संलग्न आप्रवासीहरूलाई देश निकाला अभियान, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग-युएसएआइडी बन्द गर्न आदेश र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट पछि हट्ने निर्णयलगायत व्यापारिक र कूटनीतिक नीतिहरूले दक्षिण एसियाली मुलुकसँगै नेपाल पनि प्रत्यक्ष प्रभावित भएको छ ।

अमेरिका नेपालको औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको दोस्रो मुलुक हो । नेपाल र अमेरिकाबीच दौत्य सम्बन्धको सुरूवात सन् १९४७ अप्रिल २५ मा भएको थियो । त्यसअघि नेपालको विश्वको एक मात्र देशसँग दौत्य सम्बन्ध थियो, भारतमा १९४ वर्षदेखि शासन गरिरहेको इष्‍ट इन्डिया कम्पनी र बेलायतसँग ।

 त्यतिन्जेल नेपालमा चीनको समेत दूतावास थिएन भने माओको क्रान्ति र तिब्बतसमेत बिलय भएको थिएन । दक्षिण एसियामा ब्रिटिश शासनको अन्त्य नहुँदै नेपालसँग विधिवत् दौत्यसम्बन्ध कायम गरेर अमेरिकाले नेपालको सार्वभौमसत्तालाई विश्वस्तरमा वैधानिकता दिएको थियो ।

नेपालको सबैभन्दा ठूलोमध्येको दाता राष्ट्र, दोस्रो ठूलो निर्यात व्यापार साझेदार र उच्च १० भित्र पर्ने रेमिटेन्स प्राप्त हुने देश हो अमेरिका । त्यसो त, नेपालीको पहिलो प्राथमिकता अथवा ‘सपनाको देश’ पनि अमेरिका नै हो । नागरिकता प्राप्त, ग्रीन कार्ड, अन्य विभिन्न कानूनी सुविधासहित अमेरिकामा ५ लाख हाराहारीमा नेपाली रहेको अनुमान छ । तर ट्रम्पले सत्ता सम्हालेपछि मानव तस्करीमार्फत् वा गैरकानुनी रुटबाट पुगेकाहरू र अमेरिकामै रहेर पनि गैरकानुनी कार्यमा संलग्नहरू सर्वाधिक खोजी सूचीमा छन् । 

सन् २०२५ को एक महिनामै १३ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गर्नुले पनि यस्तै संकेत गर्छ । अमेरिकामा १० हजारभन्दा बढी अवैध नेपाली आप्रवासी हुनसक्ने अनुमान छ । ट्रम्पको कदमले अमेरिकामा रहेका ५० हजार नेपालीलाई प्रत्यक्ष असर गर्न सक्ने अनुमान गरिएको छ ।

ट्रम्पको टू ओ पछि नेपालमा राजनीतिक, सामरीक तथा आर्थिक प्रभाव कस्तो रहला ? के अमेरिका पुगेका १० औं हजार नेपाली फर्कनु पर्ने हुन्छ ? अमेरिकाले दिने वार्षिक १५/२० अर्बको आर्थिक सहायता र भन्सार सहुलियत योजना के हुन्छ ? Dependent, Greencard, Working Visa, Student visa, TPS, Asylum मा बस्नेहरूको स्टाटस के हुन्छ ? अब अमेरिकाले नेपाललाई कसरी हेर्ने छ ? नेपालको रणनीति र चासो के मा हुनुपर्छ ?

यिनै विषयमा बहस गर्न हामीले स्टुडियोमा निम्त्याएका छौँ-अमेरिकाका लागि नेपालका पूर्व राजदूत- अर्जुन कार्की, अमेरिकास्थित कोलम्बिया यूनिभर्सिटीमा अध्यापन गराइसकेका प्रोफेसर- तारा निरौला र, राजनीतिक विश्लेषक - भीमप्रसाद भुर्तेल ।

कार्यक्रम ‘सरोकार’ अहिले कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको छ । कार्यक्रम कान्तिपुर टिभीको एप, युट्युव लगायतका सामाजिक प्ल्याटफर्ममा पनि हेर्न सक्नुहुनेछ ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement