काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न पर्याप्त पहल गर्न नसके पनि पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्महरूले नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार गर्दै आएका छन् । लोन्ली प्लानेट, ट्रिप एड्भाइजर जस्ता पर्यटन सम्बन्धी संस्था मात्र होइन, न्युयोर्क टाइम्स र बीबीसी जस्ता अन्तर्राष्ट्रिय मिडियाले पनि बेलाबेला नेपालका आकर्षक गन्तव्यको प्रवर्द्धन गर्दै आएका छन् । नेपाल घुमेर फर्किएका पर्यटकले दिने रिभ्यू अर्थात् समीक्षाका आधारमा उनीहरूले नेपाललाई उत्कृष्ट गन्तव्यको सूचीमा राख्दै आएका छन् ।
संसारभर एक अर्बभन्दा बढी सब्सक्राइबर रहेको अनलाइन पोर्टल ट्रिप एड्भाइजरले काठमाडौंलाई एक्लै घुम्नका लागि उपयुक्त गन्तव्यको सूचीमा दोस्रो नम्बरमा राखेको छ । ट्रिप एड्भाइजरले काठमाडौंलाई सोलो ट्राभलका लागि १० उत्कृष्ट डेस्टिनेशनको सूचीमा दोस्रोमा राखेको हो ।
काठमाडौंका बारे ट्रिप एड्भाइजरले ऐतिहासिक स्थल, प्राचीन मन्दिर, तीर्थस्थल, दरबार स्क्वायर, मनमोहक गाउँ, स्थानीयसँगको घुलमिल र ट्रेकिङ समेत जानका लागि उत्कृष्ट रहेको उल्लेख गरेको छ । त्यस लगत्तै न्युयोर्क टाइम्सले सन् २०२५ मा घुम्नुपर्ने ५२ वटा गन्तव्यको सूचीमा लुम्बिनीलाई नवौं नम्बरमा राख्यो ।
ट्रिप एड्भाइजरको सूचीमा सोलो ट्रिपका लागि दोस्रो स्थानमा परेको काठमाडौं संस्कृतिक शहरमा १० मध्ये सातौं र घुम्नैपर्ने संसारका २५ उत्कृष्ट गन्तव्यमा २१ नम्बरमा परेको छ । यसले नेपालको पर्यटनमा सकारात्कमक प्रभाव पर्ने पर्यटन व्यवसायीको भनाइ छ ।
“ट्राभल्सहरूको रिभ्युको अधारमा गरिएको हो । ट्राभल गर्नेहरूले यस्ता विश्वसनीय पोर्टललाई आधार बनाएर घुम्ने हुँदा यसले नेपालको पर्यटनलाई मद्दत पुग्छ”, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।
नेपालका गन्तव्यहरू यस्ता सूचीमा नियमित रूपमै पर्ने गरेका छन् । केही समयअघि संसारको उत्कृष्ट गाइड बुक लोन्ली प्लानेटले लुम्बिनीलाई नै तराई क्षेत्रको उत्कृष्ट गन्तव्य भनेको थियो ।
विश्वचर्चित संस्थाहरूले यसरी बारम्बार नेपाल र नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा सहयोग पुर्याए पनि सरकार र नेपाली पर्यटन व्यवसायीहरूले त्यसलाई ब्रान्डिङ गर्न र पर्यटक भित्र्याउन भने सकिरहेका छैनन् ।