कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटस्थित पुरैनी ताल, 'चराको स्वर्ग' का रुपमा परिचित छ । चरा अनुसन्धानकर्ताहरूका लागि विशेष महत्व राख्ने यो ताल चरा प्रेमी र पर्यटकको प्रमुख आकर्षणको केन्द्र पनि हो । करिब २९ बिघा क्षेत्रफलमा फैलिएको यो ताल संरक्षण, पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनको पर्खाइमा छ ।
तस्विरमा देखिएको यो हो, कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोट स्थित पुरैनी ताल ।
यहाँ कात्तिकदेखि वैशाखसम्म प्रवासी चराहरू आउने गर्दछन् । रैथाने चराहरू भने वर्षैभरि ताल वरिपरिको सीमसार क्षेत्रमा रमाइरहेका हुन्छन् । सााच्चै, यो ताल चराको स्वर्ग नै हो । नेपाल पंक्षि संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराका अनुसार यहाँ कम्तिमा पनि ५५ प्रजातिका चरा पाइन्छन् । संरक्षित क्षेत्र बाहिर सबैभन्दा धेरै चरा पाइने ठाउँ पनि यही नै हो ।
तालको संरक्षणले जैविक विविधता मात्रै जोगाउँदैन, चरा पर्यटनलाई पनि प्रवर्द्धन गर्छ । तर अहिले यो ताल जलकुम्भीले भरिएको छ, अतिक्रमणमा परेको छ र वर्षातमा आउने बाढीको चपेटामा पनि पर्ने गरेको छ । तालको जैविक विविधता जोगाउन स्थानीय सरकार र चरा विज्ञहरूले विभिन्न योजनाहरू त बनाउँछन् । तर कार्यान्वयन हुन सकेको छैन । तालको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले पर्खाल निर्माण, अतिक्रमण र जलकुम्भी हटाउने कार्य र अवलोकन घरसहित पर्यटकीय पूर्वाधार विकास गर्ने योजना अघि सारेको बेलौरी नगरपालिका-६ का वडाध्यक्ष कञ्चनपुर भोजराज चौधरीले जानकारी दिनुभयो ।
चरा विज्ञहरूले यस क्षेत्रलाई चरा पर्यटन क्षेत्रका रूपमा विकास गर्न जोड दिएका छन् । चराको वासस्थान सुरक्षित राख्न जलाधार क्षेत्र संरक्षण र जैविक विविधता कायम राख्न आवश्यक छ । पुरैनी तालमा भारत तथा तेस्रो मुलुकहरुबाट पनि अनुसन्धानकर्ताहरू आउने गर्दछन् ।
‘सिकार त मानिसहरूले नै गरिरहेका छन् । मानिसहरूले हस्तक्षेप नगरेमा मात्रै पनि पंक्षीको संरक्षण धेरै राम्रो हुन सक्छ । चरा मारेर खानु हुन्छ भने त्यसले दुई चार सय मूल्य बराबरको मासु मात्रै दिन्छ, तर त्यही चरा कुनै विदेशीलाई देखाउन सक्यौ भने कम्तिमा पनि एक सय डलर दिन सक्छ । चरालाई सुट गरौं त क्यामेराले सुट गरौं । गोलीले होइन, विषादीले होइन,’ वन्यजन्तु फोटोग्राफर भारत विक्रम तिवारीले भन्नुभयो ।
यहाँका स्थानीय समुदाय र सिद्धेश्वर सहकारी संस्थाले ताल संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको नेपाल पंक्षि संरक्षण संघ कञ्चनपुरका उपाध्यक्ष बताउनु हुन्छ । विद्यार्थीहरूले पनि तालको संरक्षण र चरा अवलोकन गर्दै जैविक विविधता संरक्षणको महत्वबारे समुदायमा जनचेतना फैलाइरहेका छन् ।
तालको संरक्षणबाट यहाँका बासिन्दाहरूको आयस्रोतमा वृद्धि हुने अपेक्षा गरिएको छ । तालको पानी सिँचाइका लागि उपयोगी छ र माछापालनबाट समुदायको आय बढेको छ । ताललाई पर्यटकीय सर्किटमा समेट्ने योजना कार्यान्वयन गर्न सकेमा स्थानीय समुदायमा रोजगारी सिर्जना हुन सक्ने छ ।